नेप्से २७ अङ्कले बढ्यो

409

नेप्से २७ अङ्कले बढ्यो

काठमाडौँ, २ साउन । धितोपत्र बजारमा आज नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७४५ विन्दुमा पुगेको छ ।

कुल १३६ कम्पनीको रु एक अर्ब ३६ करोड २८ लाख २८ हजार ४६९ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दैनिक तीन घन्टा मात्रै कारोबार हुँदै आएको बजार आजदेखि एक घन्टा थप गरी चार घन्टा बनाइएको छ । बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझै ३ बजे बन्द हुँदा कुल २२ लाख ७२ हजार ४५ कित्ता सेयर बिक्री भएको छ ।

विभिन्न चार समूहको सेयर उकालो लागेकामा अर्का चारवटै समूहको सेयर भने ओरालो लागेको छ । बैैंकिङ समूह ३.१८, फाइनान्स ०.७१, उत्पादन समूह १.५७ र अन्य समूहको सेयर २.९३ प्रतिशतले बढेको छ । होटल ०.४५, विकास बैंक १.८, जलविद्युत् ०.९४ र बिमा समूहको सेयर ०.५५ प्रतिशतले झरेको छ ।

एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ ।

नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै स्टकले कारोबारको समय एक घन्टा थप गरेको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीको मात्रै आज रु १२ करोड ७२ लाख ६३ हजार २९७ को कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता रु ४७६ मा कारोबार भएको हो ।