लघुजलविद्युत् परियोजना बन्द

1.3K

लघुजलविद्युत् परियोजना बन्द

म्याग्दी, ८ साउन । म्याग्दीको लुलाङ र मुनामा रहेको दुईवटा लघुजलविद्युत् परियोजना पहिरोका कारण बन्द भएको छ ।

पहिरोले विद्युत् गृहमा क्षति गरेपछि मुना– ४ मा रहेको ६० किलोवाट क्षमताको प्रथम दरखोला र लुलाङको लमसुङस्थित ३५ किलोवाट क्षमताको दोस्रो दरखोला लघुजलविद्युत् परियोजना शनिबारदेखि बन्द भएको हो ।

लधुजलविद्युत् लुलाङ गाविसका ३०० र मुना गाविसका ८०० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । विद्युत्गृह भवन भत्कने अवस्थामा रहेका छन् ।

टर्वाइन, जेनेरेटर लगायतका सामग्रीमा क्षत्ति पुगेकाले विद्युत् उत्पादन बन्द भएको प्रथम दरखोला लघुजलविद्युत् परियोजनाका अध्यक्ष डम्मरबहादुर भण्डारीले बताउनुभयो ।

यसैगरी लुलाङ गाविस– ६ मापर्ने जुकेपानीको भिरबाट खसेको पहिरोले दुई वटा गोठ बगाएको छ भने दोस्रो दरखोला लघुजलविद्युत् परियोजनाको विद्युत् गृह र नहरमा क्षति पुगेको छ । शनिबार बिहान ७ बजेदेखि निरन्तर पहिरो खसिरहेको लुलाङका बासिन्दा दलबहादुर विकले बताउनुभयो ।

कृष्णबहादुर श्रीपाली र गोरे विकको घर पहिरोको जोखिममा परेपछि सुरक्षित ठाउँमा सरेका छन् । लमसुङ गाउँको सिरानबाट खसेको पहिरोले लमसुङ मावि, स्वास्थ्यचौकी, पशुसेवा केन्द्रको कार्यालय रहेका सार्वजनिक भवनका साथै २० वटा घर पनि जोखिममा परेका लुलाङ निमाविका प्रअ नागेन्द्र ठाकुरले बताउनुभयो ।

पहिरोले मुना हँुदै लुलाङ, गुर्जा र ढोरपाटन सिकार आक्षर जाने घोरेटो बाटो पूर्णरुपमा बगाएको छ । घोरेटो बाटो पहिरोले पुरेपछि आवतजावत बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयले ताकम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाएको छ ।

घटनास्थल पुगेको प्रहरीटोली जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सघाउने र क्षतिको विवरण सङ्कलन गर्ने प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । लुलाङ जिल्ला सदरमुकाम बेनीबाट करिब ५० किलोमिटर पश्चिम तर्फ पर्छ । रासस