अख्तियार घेराउ गर्न गएका प्रहरी नियन्त्रणमा

343

अख्तियार घेराउ गर्न गएका प्रहरी नियन्त्रणमा

काठमाडौँ, ९ साउन । प्रा डा गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न गएकामध्ये समर्थकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुलाई धरपकड गर्दै अमानवीय तरिकाले नियन्त्रणमा लिएकोे समर्थकले बताएका छन् । सोलिडारिटी फर जी केसी अलाइन्सको नेतृत्वमा प्रदर्शन गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज गर्दा केही घाइतेसमेत भएको बताइएको छ ।

पक्राउपर्नेमा शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर बद्री अर्याल, डा सागर पोखरेल, विषद दाहाल, मिर्जा सिद्दीकी, विक्रम ओली, पदम जोशीलगायत १० जना पक्राउ परेको डा जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका समर्थकलाई तत्काल रिहा गर्न माग गर्दै भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब अगाडि डाक्टर तथा सर्वसाधारण नागरिक धर्ना बसिरहेका छन् । उनीहरुले प्रहरी प्रक्राउ गरेका कारणसहित उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । पुलिस क्लबको गेटमा धर्नामा बसेका उनीहरुले प्रहरी दमनको विरोधसमेत गरिरहेका छन् ।

डा क्षेत्रीले नियन्त्रणमा लिएका सबैलाई रिहा नगरेसम्म गेट अगाडि धर्ना जारी रहने उल्लेख गर्नुभयो । प्रहरीले नियन्त्रणमा लिए उनीहरुले प्रहरी दमनको विरोध गर्दै ३ बजेपछि पानीसमेत नखाने गरी भोक हडताल सुरु गरेका छन् ।