अनारखेतीमा आधुनिक प्रविधि

1.3K

अनारखेतीमा आधुनिक प्रविधि

anar kheti 1

पाल्पा, १३ साउन । मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती गरिएको छ । स्थानीय नरेन्द्र पाण्डेयले ३०० वटा बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गर्नुभएको हो । भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाइएको छ ।

एक पटक लगाएपछि दशौँ वर्षसम्म आम्दानी गर्न सकिने भएकाले व्यावसायिक रुपमा अनार खेती सुरु गरेको उहाँको भनाइ छ । “अब बजारको समेत समस्या छैन,” पाण्डेयले भन्नुभयो । थाइल्यान्ड, इजरायल, भारतलगायत मुलुकको भ्रमणबाट अनारखेती गर्न प्रेरणा मिलेको र खेती गर्न आधुनिक प्रविधि अपनाएको उहाँ बताउनुहुन्छ ।

अनारखेतीको प्रमुख समस्या गभारोबाट जोगाउनु हो । मदनपोखराका किसानले कीटनाशक विषादीको प्रयोग नगरी जालीभित्र उत्पादन गर्ने गरेका छन् । दुई वर्षअघि रु ३५ लाखको लागतमा सुरु गरिएको अनार खेतीबाट यस वर्ष उत्पादन भइसकेको र प्रतिकिलो रु २०० मा बिक्री गरिरहेको पाण्डेले बताउनुभयो ।

आधुनिक प्रविधि अपनाउन सके एक बोटबाट वर्षको दुई पटक २० किलोसम्म अनार फलाउन सकिने कृषि विज्ञको भनाइ छ । विदेशबाट आयात गरिने अनारमा विषादी प्रयोग गरिएको र यसको प्रयोगबाट स्वास्थ्यमा असर पु¥याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला बताउनुहुन्छ । मदनपोखरामा व्यावसायिक रुपबाट गरिएको अनारखेतीको सफलताबाट अरु जिल्लाका कृषक पनि आकर्षित भएका उहाँले बताउनुभयो ।