अग्र्यानिक चिया उत्पादनको लागि सरकारसंग अनुदान माग

1.2K

अग्र्यानिक चिया उत्पादनको लागि सरकारसंग अनुदान माग

chiya

इलाम, २० साउन । किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् ।

अग्र्यानिक चियाको माग अन्तर्राष्ट्रियस्तरसम्म रहेकाले मागअनुसारको चिया उत्पादन गर्न किसानले सरकारी अनुदानको माग गरेका हुन् । अग्र्यानिक चियामा धेरै परिश्रम र लगानी गर्नुपर्ने भएकाले किसानको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै सरकारी सहयोग माग गरिएको गोपाल निरौला बताउनुहुन्छ ।

अर्थाेडक्स चियाको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा अग्र्यानिक चिया बिक्री हुने गरेकाले किसान अग्र्यानिक चिया उत्पादनतर्फ आकर्षित भएका छन् । तर अग्र्यानिक चिया उत्पादनका लागि आवश्यक जैविक विषादी र मलखाद अभाव हुने गरेकाले किसान समस्यामा परेका छन् । उनीहरुले सहज रूपमा अनुदानमा जैविक मल र विषादी उपलब्ध गराउन माग गर्दैआएका छन् ।

सरकारले अनुदानमा जैविक विषादी उपलब्ध गराए मात्र लगानीको मूल्य उठाउन सकिने किसान सोमनाथ शर्मा बताउनुहुन्छ । अहिले इलामका चिया प्रशोधन कारखानाले रासायनिक मल प्रयोग गरी उत्पादन भएको हरियो चियाको मूल्य प्रतिकिलो रु ३० देखि रु ३५ तथा अग्र्यानिक चियाको मूल्य प्रतिकिलो रु ६० मा बिक्री गर्दै आएका छन् ।

जिल्लाका कन्याम, श्रीअन्तु, सुलुबुङ, कन्याम, कोल्बुङ, फाकफोक, शान्तिडाँडा, पशुपतिनगर र साँखेजुङलगायतका किसान अग्र्यानिक चिया उत्पादन गर्दैआएका छन् । सरकारले अग्र्यानिक चिया खेतीका लागि किसानलाई ब्याजमा छुट दिएर ऋण प्रदान गर्नुपर्नेमा केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले जोड दिनुभयो ।

इलामको चियाको मुख्य बजार जर्मनी हो । पछिल्लो समयमा हल्याण्ड र अस्ट्रियाका व्यापारीले समेत इलामको चिया मन पराएको बताइएको छ । छ हजार ५८१ हेक्टरमा चिया विस्तार गरी वार्षिक दुई हजार १० मेट्रिक टन तयारी चिया उत्पादन हुँदै आएको छ । यसमध्ये २० प्रतिशत किसानले मात्र अग्र्यानिक चिया उत्पादन गरिरहेका छन् । रासस