प्रशिक्षणमा वैद्य आउने

550

प्रशिक्षणमा वैद्य आउने

baidha

बुटवल, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)जिल्ला समिति,रुपन्देहीले भदौ ८ गते बुटवलमा हुने मध्यपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सफल पार्ने निर्णय गरेको छ । पार्टी जिल्ला सचिवालयको आज बुटवलमा बसेको बैठकले कार्यक्रमलाई सफल पार्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय समितिले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम सफल पार्न पार्टी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगरको संयोजकत्वमा पांच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा आरपी शर्मा, राजु भुजेल, खुमानन्द भुसाल, विनोद मरासनी सदस्य रहनु भएको छ । प्रशिक्षणमा अवध, तमुवान,पश्चिम र पूर्वि मगरांतका गरि चार राज्य समिति र रुपन्देही जिल्ला समितिका सदस्य गरि तीन सय जनाको सहभागिता हुंने केन्द्रीय सदस्य प्रेमसागर पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष मोहन वैद्य किरण, सी.पी.गजुरेल, रामसिंह श्रीस, परि थापा, सीताराम तामाङ लगायतका शिर्ष नेतृत्वले प्रशिक्षण दिने कार्यक्रम रहेको नेता पौडेलले बताउंनुभयो । त्यस्तै बैठकले केन्द्रले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तरगत भदौं १५ गते भैरहवा र २४ गते बुटवलमा प्रदर्शनसहित विरोध सभा गर्ने निर्णय पनि गरेको छ ।

पार्टीले सुकुम्वासीका समस्याका बारेमा १५ गते, राष्ट्रिय स्वाधिनता र अपर कर्णालीका बारेका विरोध स्वरुप २४ गते प्रदर्शनसहित बुटवलमा विरोध सभा गर्न लागेको जनाएको छ । बैठक पार्टी संयोजक भुलबहादुर सुनारीको अध्यक्षता र अवध राज्य समिति इन्चार्ज प्रेमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।