बुटवल, ५ भदौं । बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानले बुटवलका संपूर्ण क्षेत्रका ऐतिहासिक तथ्य र खोजसहितका सामग्रि समाबेश गर्दै बुटवल दर्पण नामक बृहद ग्रन्थ प्रकाशन गर्ने भएको छ । बुटवलमा सम्पन्न प्रतिष्ठानको बैठकले त्यस्तो निर्णय गर्दै बुटवल केन्द्रित ऐतिहासिक सामग्रि उपलब्ध गराउन लेखक, पत्रकार,साहित्यकार तथा अनुसन्धानकर्ताहरुलाई आग्रह गरेको छ ।
साहित्य, कला र संस्कृति केन्द्रित हुने उक्त ग्रन्थमा बुटवल केन्द्रित सबै बिषयहरुबारे सुक्ष्म खोजका सामग्रिहरु समाबेश हुने प्रतिष्ठानले जनाएको छ । त्यस्ता सामग्रिहरु १५ दिनभित्र उपलब्ध गाउन बिशेषज्ञ तथा ईच्छुक बिषय ज्ञाताहरुलाई प्रतिष्ठानले अनुरोध गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले उक्त काम सम्पन्न गर्नका लागि संयोजक दीपक ज्ञवाली तथा सदस्यहरु दल बहादुर गुरुङ र राजेश श्रेष्ठ रहेको सम्पादन समिति र क्रृषि आजाद संयोजक र सदस्यहरु मनिष पन्त, गंगादत्त ढकाल, राधामण अग्रहरि, ज्ञानु केसी रहेको प्रकाशन समिति समेत गठन गरेको छ । बैठकले साधारण सभाको मिति तय गर्दै बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।
प्रतिष्ठानले बुटवलमा सुस्त साहित्य, कला र संस्कृति क्षेत्रका गतिबिधि पछिल्लो अबधिमा गतिशिल बन्दै गएको ठहर गर्दै अझ ब्यापक बनाउने निर्णय गरेको छ । त्यस्तै बुटवलमा बिषयगत संस्थाहरुको सहकार्य संस्कृतिको बिकासले नयां उचाई कायम गरेको पनि ठहर गरेको छ । बैठकमा सल्लाहकार देबेन्द्र घिमिरेले बुटवलका बिशिष्ट क्षेत्रहरुको उजागर गर्न सबै सकृय हुनुपर्ने बताउनु भयो ।