चवालीस हजारले सम्पत्ति विवरण बुझाए

243

चवालीस हजारले सम्पत्ति विवरण बुझाए

nijamati

काठमाडाँै, ५ भदौ । चालु आर्थिक वर्षमा ४४ हजार ३७१ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छन् । कर्मचारीले निजामती किताबखानामा सम्पत्ति विवरण बुझाएका हुन् । किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले करिब ८२ हजार ५०० कर्मचारीमध्ये अहिलेसम्म ४४ हजार ३७१ कर्मचारीले सम्पत्ति विवरण बुझाएको बताउनुभयो ।

किताबखानाले साउनदेखि भदौ २८ गतेसम्म कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । बिहान ९ देखि साँझ ६ बजेसम्म किताबखानामा सम्पत्ति विवरण बुझाउने समय तोकिएको छ । उहाँले अन्तिम समयसम्म ८० हजार कर्मचारीले विवरण बुझाउनसक्ने बताउनुभयो । “दैनिक एक हजार ५०० का दरले सम्पत्ति विवरण बुझाएका छन्”– उहाँले भन्नुभयो, “यो आर्थिक वर्षमा ८० हजारले बुझाउन सक्ने लक्ष्य हामीले लिएका छौँ ।”

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार हरेक वर्ष निजामती कर्मचारीले किताबखानामा सम्पत्ति विवरण बुझाउनु पर्दछ । निर्देशक पराजुलीका अनुसार गत वर्ष छ हजार ५५० कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन् । सम्पत्ति विवरण नबुझाउने कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने हुन्छ ।

गत वर्ष करिब ४०० कर्मचारीको सम्पत्ति विवरण अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले माग गरेको निर्देशक पराजुलीले जानकारी गराउनुभयो ।