ठूला ग्राहकको लाइन काट्न सुरु

472

ठूला ग्राहकको लाइन काट्न सुरु

line cut

काठमाडौँ, ५ भदौ । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको लाइन काट्न सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनबमोजिम पहिलो चरणमा महसुल नबुझाउने ठूला ग्राहकको लाइन काटिएको छ । प्राधिकरणले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानको लाइन काटेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार रु ३७ लाख ३१ हजार ३३१ रकम बक्यौता रहेको महेन्द्र मञ्जिल, रु १० लाख १० हजार बक्यौता रहेको कमला दुगड र रु छ लाख ६३ हजार बक्यौता रहेको शारदा शेरचनको लाइन काटिएको हो ।

प्राधिकरणको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री शर्माले बक्यौता असुलउपर गर्ने र अटेर गर्ने जो कोहीको पनि लाइन काट्न दिनुभएको निर्देशनअनुसार नै लाइन काट्न सुरु गरिएको हो । यस्तै अत्तरीया क्षेत्रीय कार्यालय मातहतका १४ ग्राहकको लाइन काटिएको छ । प्राधिकरणका अनुसार युनाइटेड टेलिकमसहित १० ग्राहकको रु नौ लाख १८ हजार ८५२ बक्यौता रहेको छ ।

त्यस्तै डोटीका १० ग्राहकको लाइन काटिएको छ । सो जिल्लामा रु एक लाख ६४ हजार ४९५, डडेल्धुराका १० ग्राहकको रु तीन लाख २९८ बक्यौता रहेको छ । दार्चुलाका १० ग्राहकको रु तीन लाख २४ हजार १९५, बैतडीका १० ग्राहकको रु चार लाख ६६ हजार, महेन्द्रनगरमा रु १३ लाख ४१ हजार ४२६ बक्यौता रहेको छ । ती क्षेत्रीय कार्यालयको कुल रु ४६ लाख ३९ हजार ६०४ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मुलुकभरि रु १० अर्बको हाराहारीमा बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । त्यसमा रु तीन अर्ब मात्रै सडक बत्तीको बक्यौता उठाउन बाँकी रहेको छ ।