संयन्त्रमा मात्रै बस्नुको कुनै औचित्य छैन : नगरपालिका
कबिन्द्र नेपाल/
बुटवल, ६ भदौ । बुटवल उपमहानगरपालिकाले प्रतिनीधि नपठाएका कारण नेपालको दोस्रो ठूलो तरकारी तथा फलफूल बजार बुटवल कृषि उपज थोक बजार केन्द्र तीन वर्ष देखि व्यबस्थापन समिति बिहिन बनेको छ । नेपाल सरकार, स्थानीय निकाय बुटवल नगरपालिका र नीजि क्षेत्रको संयुक्त लगानीमा २०६७ सालमा स्थापना भएको उक्त बजार केन्द्रमा २०७० पुसमा तत्कालीन व्यबस्थापन समितिका कार्यकाल सकिएको थियो ।
उक्त व्यबस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ व्यबस्थापन समिति छनौटकालागि व्यापारी र किसानबाट तीन÷तीन जना प्रतिनीधि छनौट भएपनि बुटवल नगरपालिकाले नपठाएको जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले बताउनु भयो । जग्गा बाहेक नेपाल सरकारको ६० प्रतिशत, नीजि क्षेत्रको २० प्रतिशत र नगरपालिकाको २० प्रतिशत गरी एक विगाहा ७ कट्ठा जग्गामा करिव ५ करोड लगानीमा थोक बजार केन्द्र निर्माण गरिएको थियो ।
त्रिपक्षिय लगानीमा भएका कारण व्यापारीबाट तीन जना, किसानबाट तीन जना, बुटवल उपमहानगरपालिकाबाट एक जना र कृषि कार्यालयबाट एक जना तथा व्यबस्थापक सदस्य सचिव रहने गरी ९ सदस्यीय व्यबस्थापन समिति बनाउने प्रावधान रहेको जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख सापकोटा बताउनु हुन्छ । नयाँ व्यबस्थापन समिति चयनकालागि व्यापारीबाट कलाधर पन्थी, घनश्याम भुसाल र मेघनाथ पौडेल, किसानबाट गणेश भण्डारी, लक्ष्मी न्यौपाने र केशव तिवारी प्रतिनीधिमा छनौट भईसकेका थिए ।
कृषि कार्यालयले पनि प्रतिनीधि जुनसुकै वेला पठाउन सक्ने बताएको थियो । तर नगरपालिका भने प्रतीनिधी पठाउन आनाकानी गरेको किसान तथा व्यापारी बताउँछन् । थोक बजार केन्द्रमा व्यबस्थापन समिति नभएका कारण नियमित काम कारवाहीमा समस्या सिर्जना भएको छ ।
एक दिनमा एक करोडको हाराहारीमा कारोवार हुने उक्त बजारलाई व्यबस्थापनकालागि नीति नियम निर्माण तथा नियमन गर्न समस्या भएको छ । बजार व्यबस्थापक अब्दुल केयुम मुसलमानका अनुसार नियमित काम कारवाही, व्यबस्थापकीय समस्या हुनुका साथै मर्मत तथा पुनःनिर्माण, फोहोर व्यवस्थापन लगायतका काममा समेत समस्या सिर्जना भएको छ ।
केन्द्रका पूर्व अध्यक्ष कलाधर पन्थीले पनि बजार व्यबस्थापन, आयात–निर्यात, मुल्य नियन्त्रण तथा नेपाली उत्पादन प्रवद्र्धनका काम हुने भएपनि अहिले ती सबै काम अवरुद्ध भएको बताउनु भयो । उहाँका अनुसार अहिले थोक बजार केन्द्र ट्रयाक भन्दा बाहिर जान लागेको छ । सुरुका दिनमा २० प्रतिशत मात्रै नेपाली उत्पादनको कारोवार हुने थोक बजारमा ८० प्रतिशत भारत तथा चीनमा निर्भर थियो ।
व्यबस्थापन समितिको पदावधी नसकिंदासम्म त्यसको ठिक उल्टो भएको थियो । ८० प्रतिशत कारोवार नेपाली उत्पादनको हुन्थ्यो भने २० प्रतिशत मात्रै भारत र चाईनाबाट आयात हुने स्थितीमा सुधार भएको थियो । यसले नेपाली उत्पादन प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा निकै ठूलो भुमिका खेलेको पूर्व अध्यक्ष पन्थी बताउनु हुन्छ । थोक बजार केन्द्रलाई राम्रो बनाउँदै लैजाने हो भने नेपाली किसानले उत्पादन गरेका बस्तुले बजार पाउने र बिदेशीई रहेको नेपाली पुँजी पलायन हुनबाट रोक्नकालागि पनि नेपाली किसान र उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
‘स्थानीय स्वायत्त शासन ऐन अनुसार बजार सञ्चालन गर्ने नगरपालिकाले हो । तर यहाँ त्रिपक्षीय लगानीमा भएकाले त्रिपक्षीय स्वामित्व खोजिएका कारण समस्या बल्झीएको हो । नगरपालिका स्थानीय स्वायत्त शासन ऐन अनुसार आफूले मात्रै उक्त बजार सञ्चालन गर्नुपर्ने अडानमा छ ।’ पूर्व अध्यक्ष पन्थीले भन्नुभयो–‘एकाधिकार हुनुहुँदैन, किसान र कृषि बिकासको पनि सहभागिता हुनुपर्छ भन्ने हाम्रो राय हो ।’
तर बुटवल नगरपालिकाले यो कुरा स्वीकार्न तयार छैन । ‘त्रीपक्षीय संयन्त्रमा बस्न हामी तयार छौं ।’ बुटवल नगरपालिकाका कार्यकारी प्रमुख ध्रुवबहादुर खड्काले भन्नुभयो–‘नगरपालिका संयन्त्रमा बस्ने तर निर्णय प्रकृयामा नगरपालिकाको कुनै प्रभाव नपर्ने भएपछि त्यहाँ बस्नुको कुनै औचित्य रहन्न ।’