भाइरल रोगका बिरामी बढे

574

भाइरल रोगका बिरामी बढे

viral

पाल्पा, ६ भदौ । जिल्लामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेपछि पाल्पा अस्पतालका चिकित्सकलाई उपचार गर्न भ्याइनभ्याइ भएको छ ।

पाल्पा अस्पतालमा चिकित्सकद्वारा आधुनिक उपकरणसहितको सेवा दिन थालेपछि ठूला अस्पताल र निजी क्लिनिकमा उपचार गर्न नगई बिरामीहरु पाल्पा अस्पतालमा जाने गरेका छन् ।

पन्ध्र श्ययाको अस्पतालमा हिजोआज भाइरल ज्वरोका बिरामी दिनहुँ १०० देखि १५० जनासम्म आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा दक्ष चिकित्सकद्वारा ल्याब, एक्स–रे, भिडियोे एक्स–रे, दन्त, गर्भपतन, सुत्केरीलाई राम्रो सेवा प्रदान गर्न लागेपछि बिरामीको अस्पतालप्रति चाप बढेको पाइएको छ ।

अस्पतालका चिकित्सक सुरज लामिछानेले गत १५ दिनयता भाइरल ज्वरो र टाइफाइडका बिरामी अत्यधिक मात्रामा आउने गरेको बताउनुभयो । दूषित पानी, खानपान र प्रदूषित वातावरणका कारण यो रोग लाग्ने हुँदा यसबाट सजक रहन उहाँले आग्रह गर्नुभयो ।

भाइरल ज्वरो सरुवा रोग भएको हुँदा बिरामीसँग बढी हेलमेल गर्ने र नजिक रहन नहुने स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।