फलामखानी सञ्चालन गर्न माग

682

फलामखानी सञ्चालन गर्न माग

falam

पर्वत, ६ भदौ । झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

२००७ सालमा तत्कालीन सरकारले बन्द गराएको भङ्गरा गाविसमा फैलिएको फलामखानी शीघ्र सञ्चालन गर्न माग गरिएको हो । रोजगारीको अभावमा जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासिन्दाले माग गरेका हुन् । उक्त फलामखानीको उत्खननप्रति निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पनि चाँसो देखाएपछि स्थानीय उत्साहित भएका थिए ।

धुवा“कोटे फलामका नाममा लोकप्रिय खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र नेपाल पर्वत खनिज उद्योग प्रालि लुम्बिनी नवलपरासीबीच २०६७ पुस ८ सम्झौता भएको भनिए पनि अझै काम सुरु हुन सकेको छैन । विभागले दैनिक ११० टन फलाम उत्खनन गर्ने स्वीकृति प्रदान गरिसकेको थियो । सम्झौताअनुसार २० वर्षको अवधिमा ८० लाख तीन हजार टन फलाम उत्खनन गर्ने लक्ष्य लिएको भए पनि अझै काम सुरु गर्न सकेको छैन ।

यो ठाउँमा फलामका धाउ भेटिएको र कम्पनीले छिट्टै नै उत्खनन क्षेत्रलाई रेखाङ्कन गरी उत्खनन कार्य सुरु गर्ने जानकारी तत्कालीन अवस्थामा जिल्ला प्रशासनलाई पनि जानकारी गराएको थियो । स्थानीय दमाहा सामुदायिक वन र धाउखानी सामुदायिक वनमा फैलिएको उक्त खानी सञ्चालनका लागि कम्पनीले स्थानीय प्रशासनसमक्ष समेत स्वीकृति लिइसकेको थियो । अहिले कुनै पनि कम्पनी उत्खनन गर्न भन्दै जिल्ला शासनमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीन ढकालले जानकारी दिनुभयो ।

तत्कालीन समयमा खानीबाट निकालेको फलामको धाउ पगाल्न वरपरका आधा दर्जन गाविसको हजारौँ हेक्टर जङ्गल सखाप बनेपछि सरकारले खानी बन्द गराएको स्थानीयको भनाइ छ । छिमेकी गाविस लुङ्खु पाखापानी, फलामखानी, ठानामौला, भङ्गारालगायतका गाविसमा रहेको जङ्गल फाडिएपछि इन्धनको अभावका कारण बन्द गरिएको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताउनुभयो ।

उक्त गाविसमा अहिले विद्युतीकरण भएकाले थोरै लगानीमा इन्धन उपलब्ध हुने भएकाले उत्खनन कार्य सुरु गर्न स्थानीयबासिन्दाले माग गरेको विश्वकर्माको भनाइ छ । फलामखानीको १ देखि ७ वडा नम्बरसम्मका दलित परिवार फलामखानीमा काम गर्दै आएका थिए । फलामखानी सञ्चालन हु“दा गाउ“का सबै बासिन्दाले रोजगारी पाएको शिक्षक विश्वकर्माले बताउनुभयो ।

यो खानीबाट निस्कने फलाम स्वदेश तथा विदेशमा अझैसम्म परिचित छ । फलाम निकाल्ने काम बन्द भएपछि खानीमा आश्रित स्थानीय २०० घरधुरीले अहिले ज्याला मजदुरी गर्दै आएका छन् । फलामखानी गाविसको १, २, ३, ४, ५, ६ र ७ नं वडामा बस्ने सबै विश्वकर्मा परिवार फलाम निकाल्ने काममै लागेको स्थानीयवासी हीरालाल विश्वकर्माले बताउनुभयो ।

गाउँमा कच्ची मोटरबाटो पुगिसकेकाले पनि कोइलाको व्यवस्था गरेर पनि खानी सञ्चालनमा ल्याउनुपर्ने माग स्थानीयको छ । खानी सञ्चालनमा आएका बेला फलाम निकालेका धाउ र किटका थुप्रा अहिले पनि उक्त ठाउँमा प्रसस्तै देखिन्छन । भने धाउ रहेका ठूला ढुङ्गा पनि देख्न सकिन्छ । खानीबाट फलाम निकाल्ने पेसामा लागेका ८४ वर्षीय चन्द्रबहादुर विक भन्नुहुन्छ– “बासँगै फलाम निकाल्ने र पगाल्ने काम गर्थे, प्युठानसम्म जान्थ्येँ फेरि सञ्चालन भए हाम्रा सन्ततिले रोजगारी पाउने थिए ।” रासस