युनियनको भवन निर्माणका लागि २५ लाख सङ्कलन

486

युनियनको भवन निर्माणका लागि २५ लाख सङ्कलन
नेपाल प्रेस युनियन रुपन्देहीको कार्यसमितिले अन्तरशाखा भ्रमणको क्रममा नेपाल प्रेस युनियन चितवनद्वारा निर्माणाधिन भवनको अवलोकन गदै ।
नेपाल प्रेस युनियन रुपन्देहीको कार्यसमितिले अन्तरशाखा भ्रमणको क्रममा नेपाल प्रेस युनियन चितवनद्वारा निर्माणाधिन भवनको अवलोकन गदै ।

चितवन, ६ भदौ । चितवनका एक व्यवसायी केशव कार्कीले नेपाल प्रेस युनियन चितवनको भवन निर्माणका लागि रु पाँच लाख सहयोग गर्नुभएको छ । आइतबार चितवनको भरतपुरमा एक कार्यक्रमका बीच प्रभु हाउजिङका सञ्चालक कार्कीले प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरणपछि कार्कीले पत्रकारको संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै अन्य पत्रकारसँग सम्बन्धित सङ्घ सङ्गठनलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सहयोग हस्तान्तरणपछि प्रेस युनियनले उहाँलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको छ । सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रममा युनियनका अध्यक्ष अधिकारीले दाताकै सहयोगमा भवन निर्माणको काम तीव्ररुपमा अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

चितवनको भरतपुर बसेनीमा निर्माण हुँदै गरेको भवन पूर्ण गर्न रु ४५ लाख लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म भवन निर्माणका लागि नगद तथा निर्माण सामग्री गरी रु २५ लाख बराबरको सहयोग प्राप्त भइसकेको छ । यसअघि समाजसेवी तथा पूर्व सांसद मैयाँदेवी श्रेष्ठले युनियनका लागि जग्गा सहयोग गर्नुभएको थियो ।

तीन घुम्ती फिल्मको च्यारिटी शो गरेर रु १० लाख उठाएको युनियनको भवन निर्माणका लागि रु १५ लाख दाताबाट सहयोग प्राप्त भएको आर्थिक समितिका संयोजक सिर्जना अर्यालले बताउनुभयो । मङ्सिरसम्ममा निर्माण सक्ने योजना युनियनको छ । यो भवन पत्रकारको क्षमता र दक्षता वृद्धिका लागि प्रयोग हुने युनियनले जनाएको छ । रासस