तिनाउ–मोतिपुर औद्योगिक क्षेत्रको ६ महिना भित्र डिपिआर तयार हुने

658

तिनाउ–मोतिपुर औद्योगिक क्षेत्रको ६ महिना भित्र डिपिआर तयार हुने

butwal industrial zoneकबिन्द्र नेपाल/
बुटवल, ६ भदौ । रुपन्देहीको बुटवलमा प्रस्ताव गरिएको पाँच नम्बर प्रदेशको प्रदेश स्तरीय तिनाउ–मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम अव तुरुन्तै शुरु हुने औद्योगिक क्षेत्र व्यबस्थापनको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिना भित्रै बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम पुरा गर्ने र तीन वर्ष भित्रै औद्योगिक क्षेत्र निर्माणको काम पुरा गरिसक्ने गरी काम शुरु भएको छ ।

औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड र बुटवल उद्योग बाणिज्य संघद्वारा सोमबार बुटवलमा आयोजित मोतिपुर औद्योगिक क्षेत्र प्रगति एवम् भावि कार्यक्रम विषयक अन्तरसंवाद कार्यक्रममा पनि औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका महाप्रवन्धक नन्दकिशोर बस्नेतले मुलुकको आर्थिक क्रान्तिको लागि औद्योगिक क्षेत्रको द्रतस्तर बिकास अपरिहार्य रहेको र तिनाउ–मोतिपुर औद्योगिक क्षेत्र पनि द्रत गतिमा निर्माण हुने बताउनु भयो ।

तिनाउ–मोतिपुर औद्योगिक क्षेत्रकोलागि साविकका मोतिपुर, फर्साटिकर, अमुवा, टिकुलीगढ र आनन्दबन गाउँ बिकास समिति समेत समेटिएको बुटवल स्थित तिनाउ नदिको उकास क्षेत्रको ८ सय १४ विघा सरकारी जग्गा औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडको नाममा सरकारले जग्गा धनी पुर्जा हालै प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त प्रस्तावित औद्योगिक क्षेत्र भित्र कित्ता नम्बर ४७ र ४८ को करिव ४६ विघा जग्गा रानीगञ्ज स्थित सुकुम्बासीका घर घडेरी परेकाले उक्त जग्गा छोडेर औद्योगिक क्षेत्र निर्माण गरिने स्थानीयलाई प्रष्ट पार्नुभयो । स्थानीयले बषौंदेखि बस्दै आएका सुकुम्बासीलाई लखेट्न नहुने माग गर्दै त्यसरी औद्योगिक क्षेत्र निर्माण गर्न नपाईने भन्दै बिरोध गरेका थिए ।

आगामी ६ महिना भित्र तयार पार्ने बिस्तृत परियोजना प्रतिवेदनका लागि ५ करोड रुपैंया विनियोजन गरिएको महाप्रवन्धक बस्नेतले जानकारी दिनुभयो । औद्योगिक क्षेत्र भित्र बिद्यालय, खेल मैदान, स्वास्थ्य चौकी लगायतका संरचनाकालागि जग्गा छुट्याउनु पर्ने स्थानीयको माग प्रति आफू सकारात्मक रहेको जानकारी गराउँदै बिस्तृत परियोजना प्रतिवेदनमा समेट्न आफू तयार रहेको बताउनु भयो ।

५ करोड सम्म लगानीका उद्योगलाई साना र २० करोड सम्मका लगानीकालाई मझौला उद्योग मानेर ऐन बनाउने काममा सरकार जुटेको उल्लेख गर्दै उहाँले उक्त औद्योगिक क्षेत्रमा साना, मझौला र ठूलो उद्योगकालागि छुट्टाछुट्टै क्लस्टर निर्माण गरिने जानकारी दिनुभयो । यो क्षेत्र पूर्ण रुपले वातावरण प्रदूषण मुक्त हुने महाप्रवन्धक बस्नेतको भनाई छ । आगामी ५० वर्षसम्मकालागि उपयोगी हुने गरी यो औद्योगिक क्षेत्र बन्ने समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा मोतिपूर गाबिसका पूर्व अध्यक्ष भिमप्रसाद न्यौपानेले औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड र स्थानीय बासिन्दा बिच भएको सम्झौता पालना गर्न आग्रह गर्दै सुकुम्बासीलाई लखेट्नगरी औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको भए त्यसमा आफूहरुको विरोध हुने बताउनु भएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उक्त क्षेत्रकोलागि सरकारले धनीपुर्जा प्रदान गरिसकेकाले विवाद नगर्न आग्रह गर्नुभयो । उक्त औद्योगिक क्षेत्रका संयोजक नवराज श्रेष्ठ र बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले साना तिना बिषयमा नअल्झेर यथाशिघ्र काम अघि बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।