मेला सुरु भएसँगै कोरला नाका सञ्चालन

657

मेला सुरु भएसँगै कोरला नाका सञ्चालन

korala naka

म्याग्दी, ७ भदौ । चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ ।

उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुई पटक कोरला नाका खुलाइ व्यापार मेला सञ्चालन गर्ने परम्पराअनुसार मेला सुरु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

वर्षमा दुईपटक आलोपालो गरी चीन र नेपालको भूमिमा व्यापार मेला सञ्चालन गर्ने सहमति भए तापनि यसवर्ष दुई पटक नै चीनको भूमिमा मेला सञ्चालन भएको छ । यस वर्षको गत असार महिनाको १ गतेदेखि २५ गतेसम्मका लागि सञ्चालन भएको व्यापार मेला चीनले सुरक्षा चुनौती देखाउँदै पूर्वनिर्धारित समयभन्दा १० दिनअघि नै बन्द गरेको थियो । अहिले कोरला नाकादेखि करिब १० किलोमिटरभित्र चीनको ढोङवासेन जिल्लाको ढोकोमोलोमा व्यापार मेला सञ्चालन भइरहेको लोमान्थाङका गाविस सचिव घ्यूर्मी आङग्याल विष्टले जानकारी दिनुभयो ।

हिउँद याममा हिउँकै कारण स्थानीयवासीलाई हिँडडुलमा समस्या हुने हुँदा अहिले नै नाका खोली व्यापार मेला सञ्चालन गरिएको विष्टको भनाइ छ । वर्षको दुईपटक हुने व्यापार मेलामा दुई देशका व्यापारीले आफूलाई चाहिने एक वर्षका लागि मालसामान खरिदबिक्री गरेर राख्ने गरेका छन् । बर्सेर्नि असार र भदौमा दुई देशबीच व्यापार मेला हुँदै आएको छ ।

व्यापार मेलामा स्थानीय व्यापारीले दैनिक उपभोग्य वस्तु, बियर, रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, विद्युतीय सामान लगायतका वस्तु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पस्मिना (ऊन) लगायत स्थानीय उत्पादन निर्यात गर्ने गरेका छन् । व्यापार मेलामा चीनसँगको कोरला नाका खुलाई चिनियाँ र नेपाली निर्वाधरुपमा आवतजावत गर्छन् । मेला आगामी दुई हप्तासम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । रासस