बुटवल, ८ भदौ । शैक्षिक क्षेत्रमा कृयाशिल व्यक्तिहरुको नयाँ सोँचमा बुटवलमा फ्रेस जुस उत्पादन शुरु गरिएको छ ।
यस क्षेत्रमा रहेर शैक्षिक क्षेत्रमा काम गर्दै आएका १० जनाको २० लाख रुपैंया लगानीमा शुरु गरिएको एफजे प्रोडक्टले सिजनेवल फलफूल सहित तरकारीजन्य करेला, लौका र गाजरको जुस उत्पादन सुरु गरेको प्रवन्ध निर्देशक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त कम्पनीले भोलि बिहिबारदेखि औपचारिक बिक्री शुभारम्भ गर्दैछ ।
योजनावद्ध रुपमा आफ्नो उत्पादनलाई परिस्कृत गर्दै अँगाडी बढ्ने लक्ष्य अनुसार आगामी फागुन महिना भित्रमा तीन वटा शाखा बिस्तार गरिने छ भने करिव डेढ वर्षमा ईन्टरनेशनल स्टाण्डर्डमा प्याकेजिङ् गरी बजारमा लैजाने सोँच बनाएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । तर तत्कालकालागि उपभोक्ताको माग अनुसार मागपछि मात्रै जुस उत्पादन गरिने छ ।
लामो समयसम्म स्टोरेज गरेर राख्न नमिल्ने भएकाले उपभोक्ताको माग अनुसार तुरुन्त उत्पादन गरि उपलब्ध गराईने सञ्चालक मानध्वज गिरीले बताउनु भयो । बजारमा उपलब्ध हुने ताजा जुस धुलो धुवाँ भएका स्थानमा पनि पेल्ने र उपभोक्तालाई बिक्री वितरण भईरहेको देखिएपछि त्यसले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै सफा र फ्रेस जुस उपभोक्ता माझ ल्याईएको उहाँले बताउनु भयो ।