अवैध मदिरा नियन्त्रण गर्न माग

381

अवैध मदिरा नियन्त्रण गर्न माग

madira

बुटवल, ११ भदौ । अवैधानिक रुपमा उत्पादन हुने अवैध मदिरालाई नियन्त्रण र बैधानिक रुपमा सरकारसंग ईजाजत लिएर सञ्चालन भएका व्यबसायलाई प्रवद्र्धन गर्न मदिरा व्यबसायीहरुले सरकारलाई आग्रह गरेका छन् । अवैध रुपमा लुकिचोरी उत्पादन हुने घरपालुवा मदिरा मानव स्वास्थ्यकालागि पनि राम्रो नभएको र मावन स्वास्थ्यमा समेत प्रभाव पार्ने घरेलु मदिरा नियन्त्रण गर्न उनीहरुले सरकारलाई जोडदार रुपमा माग गरेका हुन् ।

मदिरा व्यबसायी संघ रुपन्देहीको शनिबार भैरहवामा सम्पन्न आठौं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले घरपालुका मदिराले राज्य कोषमा संकलन हुने राजश्वमा समेत प्रभाव पार्न सक्ने उनीहरुले उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल मदिरा व्यबसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपालले लुकिचोरी हुने अवैध मदिरालाई नियन्त्रण गर्न सके बैधानिक रुपमा व्यबसायी गरेका व्यबसायीलाई मात्रै नभएर मदिरा व्यबसायबाट आर्जन हुने राजश्वमा समेत बृद्धि हुने दावी गर्नुभयो ।

मदिरा व्यबसायीलाई सरकार आम नागरिकले हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउँदै सरकार आफैले व्यबसाय सञ्चालन गर्नकालागि लाईसेन्स वितरण गर्ने र आफैले लाईसेन्स दिएको व्यबसायलाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रबृत्ति राम्रो नभएको उल्लेख गर्दै यस्तो प्रबृत्ति हटाउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले अवैध मात्रै नभएर नक्कली मदिराले पनि व्यबसायीलाई नकारात्मक प्रभाव पारेको बताउँदै बढी नाफा आर्जन गर्ने नाममा व्यबसायीले पनि नक्कली मदिरा बिक्रि वितरण नगर्न आग्रह गर्नुभयो ।

उहाँले उत्पादक र विक्रेता व्यबसायीको सम्बन्ध नङ् मासुको भयो भने मात्रै दुबैको व्यबसायिक हित हुन सक्ने भएको उत्पादक र बिक्रेता विचको सम्बन्धलाई अझै प्रगाढ बनाउन आफूले हर प्रयास गर्ने बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष सुलोचन ढकालले हालै सरकारले गरेको ईजाजत पत्रको म्याद सकिएको एक वर्ष भित्रमा नविकरण नगरेमा ईजाजत पत्र खारेज गर्ने निर्णयको स्वागत गर्दै निर्णय कार्यान्वयन गर्न माग गर्नुभयो ।

उहाँले सरकारले अनुमति दिएर राजश्व तिरेर सञ्चालन भएको व्यबसायलाई प्रहरीले सुरक्षाका नाममा हस्तक्षप गरि बन्द गर्ने प्रबृत्तिको अन्त्य गर्न समेत माग गर्नुभयो । ‘मदिरा बिक्रि गर्ने व्यबसायीले कुनै अपराध गरेको छ भने त्यसलाई कारवाहीको दायरामा ल्याउनु पर्छ ।’ उहाँले भन्नुभयो–मदिरा पिएर कसैले अपराध गर्ला की भनेर बैधानिक रुपमा सञ्चालन भएका व्यबसायलाई बन्द गर्ने काम व्यबसायी माथिको अन्याय हो ।’

सामाजिक मर्यादा र शान्ति सुरक्षाका हिसावले केही सचेतता अपनाईने भएपनि पूर्ण रुपमा बन्द गर्ने नीति प्रशासन तथा सुरक्षा निकायको नहुने भएकाले शान्ति सुरक्षा र सामाजिक मर्यादा कायम गर्नकालगि चालिएका कदममा व्यबसायीले सहयोग गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीका लेखा अधिकृत सुरेन्द्र बस्यालले आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिलकुमार ज्ञवाली, संघका कानुनी सल्लाहकार तुलसीराम ढकाल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, होटल व्यबसायी संघ भैरहवाका अध्यक्ष रामचन्द्र रेग्मी, पत्रकार माधव ढुङ्गाना, मदिरा व्यबसायी संघ पाल्पाका महासचिव शंकर खनाल, वितरक संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ लगायतले विगतका तुलनामा मदिरा व्यबसाय मर्यादित हुँदै गएको उल्लेख गर्दै व्यबसायीले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक काममा समेत अग्रसर हुनु राम्रो कुरा भएको उल्लेख गरेका थिए ।

सोही कार्यक्रममा होटल व्यबसायीहरुले रुपन्देही पर्यटनका हिसावले पनि मुलुकको केन्द्रमा रहेकाले पर्यटकीय स्थानको संरक्षण र संवद्र्धन गर्ने हो भने पर्यटन बिकास गर्न सकिने र त्यो व्यबसायीक हितमा समेत हुने औंल्याएका थिए । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठ र महासचिव भिष्मराज अर्यालले सञ्चालन गर्नुभएको थियो । साधारण सभाले संघले एक वर्षसम्म गरेका गतिबिधीको समिक्षा गर्दै आगामी वर्षका लागि रणनीति बताएको महासचिव अर्यालले बताउनु भयो ।