मतदाता अधिकार मञ्च गठन

1.3K

मतदाता अधिकार मञ्च गठन

voter rights

बुटवल, १२ भदौं । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि रुपन्देहीमा जिल्ला मतदाता अधिकार मञ्च, नेपाल गठन भएको छ । आईतबार बुटवलमा राष्ट्रिय मतदाता अधिकार मञ्चका केन्द्रीय प्रतिनिधिको रोहवरमा रुपन्देहीमा मञ्च गठन गरिएको हो । राष्ट्रियस्तरमा आबद्ध रहेका संघसंस्थाको प्रतिनिधित्व हुने गरि बुद्धिराज हरिजनको अध्यक्षतामा रुपन्देही मञ्च गठन भएको छ ।

मञ्चको उपाध्यक्षमा सावित्रा घिमिरे, सचिवमा विनोद परियार, कोषाध्यक्षमा मनिला न्यौपाने रहुनुभएको छ । यसैगरि सदस्यहरुमा अमृता अनमोल, रोमनसिंह विश्वकर्मा, कल्पना तिवारी, राधिका श्रेष्ठ, मनु खड्का, बुटवल उद्योग बाणिज्य संघ, देवराज खनाल, जयस मोहम्मद खाँ र रीमा बिसि रहुनभएको छ । अन्य सदस्य पछि थप गरिने गरि मञ्च गठन गरिएको हो ।

सो अवसरमा बोल्दै मञ्चका राष्ट्रिय अध्यक्ष भक्त विश्वकर्माले लोकतन्त्रको सुन्दरता भनेको निर्वाचन भएको भन्दै निर्वाचनमा मतादातालाई सुसुचित गराउने उदेश्यले मञ्चको जन्म भएको बताउनुभयो । उहाँले नेपालमा सामाजिक रुपमा पछाडि पारिएका बर्गहरुको सहभागिता ग्यारेन्टी गराउन सहयोग पु¥याउन मञ्चले सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व सभाषद विनोद पहाडीले १९ बर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा नेता जनताप्रती इमान्दार बन्न नसकेकाले त्यसलाई नियन्त्रण गर्न पनि जनतालाई मतदाधिकारका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो । मञ्चका केन्द्रीय सदस्य एंव जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले निर्वाचन लोभ र प्रलोभमा गराउने प्रवृत्तिले सिमान्तकृत समुदाय सधै ठगिएकाले कस्तो नेता चुन्ने त्यसको लागि पनि मञ्चको स्थापना भएको बताउनुभयो । रुपन्देहीका निर्वाचन अधिकृत हुमनाथ गौतमले निर्वाचनले विधिको शासन स्थापना गर्ने भन्दै जनतालाई सुसचित गर्ने संस्था आफुहरुको सारथी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रुपन्देहीका अध्यक्ष विक्रम सुनारको अध्यक्षता, जागरण मिडिया सेन्टर बुटवलका विनोद परियारको सञ्चालन एंव सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको स्वागतमा भएको कार्यक्रममा दलित गैरसरकारी संस्था महासंघका राष्ट्रिय उपाध्यक्ष बेद्धिराम हरिजन, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका बेन्द्रीय सदस्य रवि विश्वकर्मा, बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि अर्याल, गैरसरकारी संस्था महासंघ रुपन्देहीका सदस्य देवराज खनालले बोल्नुभएको थियो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित गैरसरकारी संस्था महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, जागरण मिडिया सेन्टर, सञ्चारीका समूह, क्रियाशिल महिला पत्रकार, दलित महिला संघ, एकल महिला समूह, निलहिरा समाज, तराई विकास मञ्च, बुद्ध जागरण सामाजिक सेवा, सृजनशिल समाज नेपाल लगायतका संस्था मञ्चमा आबद्ध छन् ।