गायक खेमराज गुरुङको अन्त्येष्टि

289

गायक खेमराज गुरुङको अन्त्येष्टि

काठमाडौँ, १२ भदौ । लोकगायक खेमराज गुरुङको आज साँझ पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उहाँको पार्थिव शरीरलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज दिउँसो सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायतले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । त्यस्तै आर्यघाटमा नेकपा (एमाले)का कावा अध्यक्ष वामदेव गौतमले पार्टीको झन्डा ओढाउनुभएको थियो । यसअघि उहाँको पार्थिव शरीरलाई आज बिहानै विशेष हेलिकप्टरबाट गृह जिल्ला सङ्खुवासभाको खाँदबारीमा लगिएको थियो जहाँ हजारौँ सर्वसाधारणको उपस्थिति थियो ।

लोकप्रिय ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक गुरुङको ४२ वर्षका उमेरमा यही भदौ ९ गते चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको थियो ।

गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उहाँहरू आएपछि मात्र अन्त्येष्टि गरिएको हो । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । गुरुङका ‘जीवन’, ‘जीवन–२’, ‘अनमोल’, ‘धरान–पोखरा’, ‘सोल्टी’, ‘आलुतामा’, ‘ढाक्रे, ‘ढाक्रे (लोकगीत)’, ‘घुमफिर’लगायत लोक तथा पप गीतका सङ्ग्रह बजारमा उपलब्ध छन् ।