बुटवल, १२ भदौ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्व नजिकिदै गर्दा नेपाली समाजमा जताततै तीजको रौनक बढ्दै गएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा विभिन्न संस्थाहरुले तीज मिलन कार्यक्रमहरुको आयोजना गरिरहेका छन् । बिभिन्न जाती समुदायका महिलाहरुले पनि तीजको रौनक थप्ने काम गरिरहेका छन ।
सोही अवशरमा आज कशौधन महिला समिति रुपन्देहीले पनि हाम्रो कला र संस्कृति बचाउँ भन्ने मुल नाराका साथ तीज गीत कार्यक्रमको आयोजना गरेको छ । कशौधन समुदायले संभवत नेपालमै पहिलो पटक आयोजना गरेको सो कार्यक्रममा सहभागिहरुले हिजोआज तीजले महिला अधिकार र सामाजिक बिसंगती बिरुद्ध आवाज उठाउन थाले बताएका थिए ।
संस्थाकी अध्यक्ष पुष्पा कशौधनको अध्यक्षतामा भएको उक्त तीजगित कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेडियो मुक्तिकी अध्यक्ष सावित्रा अर्यालले पहिलेका महिला दिदीबहिनीहरु सासु आमाजु नन्दका विषयमा गाउँथे भने आजभोली महिला अधिकारका विषयमा गित गाउने गरेको बताउनुभयो । उहांले छोरीलाई दाइजो होइन शिक्षा दिई आत्मनिर्भर बनाउनु पर्नेमा सबैले हातमा हात मिलाउनु पर्ने बताउनुभयो ।
सो अवशरमा उपाध्यक्ष सिता गुप्ता, युवा कमिटिका अध्यक्ष बसन्त कशौधन लगाएतले बोल्दै उत्ताउलो बन्न लागेको तिजलाई संरक्षण गर्नु आजको आवश्यक्ता हो भन्नुभयो । निशा कशौधनको स्वागत, दिपिका कशौधनको धन्यवाद मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । पाँच महिना अघि स्थापना भएको यो संस्थाले बुटवलमा पहिलो पटक तीजगितको आयोजना गरेको हो ।
यसअघि कशौधन समुदायले तीजको कार्यक्रम आयोजना गर्ने चलन नरहेको यसपटकबाट शुरुआत गरिएको महिला समितिका अध्यक्ष पुष्पा कशौधनको भनाई छ । कशौधन समाजका अनुसार बुटवल र भैरहवामा गरि १ सय ३० घरधुरी कशौधन परिवार रहेका छन् ।