बैरघाट खुल्ला दिसामुक्त हुंदै

370

बैरघाट खुल्ला दिसामुक्त हुंदै

d m

बुटवल, १३ भदौ । रुपन्देहीको दक्षिणी गाविस बैरघाट खुला दिसामुक्त हुने अन्तिम चरणमा पुगेको छ । उक्त गाविसका ८ सय १९ घरधुरी मध्ये ८ सय ३ घरमा शौचालय निर्माण भयसकेका र १६ वटा घरधुरीमा निर्माणाधीन रहेकाले एक हप्ता भित्रै खुल्ला दिसामुक्त गर्न सकिने गाविस सचिव रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

गाविसका केही परिवार अति विपन्न भएकाले शौचालय निर्माणमा ढिलाई भइरहेको गिरीको भनाई छ । ‘निर्माणाधीन शौचालयहरु एक–दुई दिनमै सम्पन्न हुने गरी काम भइरहेको छ’–सचिव गिरीले भन्नुभयो ।

गाविसलाई खुला दिसामुक्त घोषणा गर्नु अघि सम्बन्धित सरकारी निकायका प्रतिनिधिले गाविसका विभिन्न स्थानका घरधुरी र शौचालयको अनुगमन गरेका छन् । जिल्ला विकास समिति रुपन्देहीका प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, जिल्ला प्राविधिक कार्यालयका केशव भट्टराई, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटी बुटवलका इश्वरी प्रसाद आचार्य लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा  शौचालय निर्माण र प्रयोगको अवस्था सन्तोषजनक पाइएकोले निर्माणाधीन शौचालयहरु बनेपछि खुला दिसामुक्त गर्न सकिने देखिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटी बुटवलका इश्वरी प्रसाद आचार्यले बताउनुभयो । शौचालय प्रयोगको बानी बसाल्न  स्थानीय युवाको टोलीले बिहान ३ बजेदेखि गस्ती गर्नुका साथै शौचालय बाहिर दिसा गर्नेलाई एकपटकको एक हजार जरिवाना तिराउन थालेपछि शौचालय प्रयोगमा गुणात्मक सुधार आएको गाविस सचिव गिरी बताउनुहुन्छ ।

यो गाविसमा शौचालय बाहिर दिसा गर्नेहरुबाट जरिवाना वापत ३७ हजार रुपैयां संकलन भएको पनि उहांले बताउनुभयो ।