खोटो सङ्कलनले वन सखाप

1.3K

खोटो सङ्कलनले वन सखाप

khoto

डोटी, १३ भदौ । नियम विपरीत भइरहेको खोटो सङ्कलनका कारण डोटीका अधिकांश वन सखाप हुने अवस्थामा पुगेको छ ।
जिल्ला वन कार्यालयले बर्सेनि खोटो सङ्कलन निर्देशिका जारी गरे तापनि त्यसको कुनै प्रवाह नगरी केही खोटो कम्पनीले मनग्य मुनाफा कमाउन नियम विपरित कार्य गरेका हुन् ।

स्थानीय चवरा चौतारा गाविसस्थित जनजागृति सामुदायिक वनमा विगत ६ वर्षदेखि काम गरिरहेको भद्रकाली रोजिन टर्पिनटाइन इन्डस्ट्रिज प्रालिले यस्तो कार्य गरेको सामुदायिक बनका सदस्य हर्क बम बताउनुहुन्छ । उक्त कंपनीले त्यँहाको वनसँग सम्झौता विपरीत कार्य गरेको उहाँको भनाइ छ ।

खोटो सङ्कलन गर्दा सल्लाका बोट बाक्लो भएको ठाउँमा ५० रूख बराबर एक बोट मदर ट्री र पातलो सल्लाका बोट भएको ठाउँमा २० रूखको बीचमा एउटा मदर ट्री राख्नुपर्नेे भएपनि सो कंपनीले ६० देखि ७० रूखको बीचमा मदर ट्री राखेको र ती मदर ट्रीमा समेत घाउ बनाई खोटो सङ्कलन गरिएको भेटिएको छ । यस्तै छ वर्षसम्म सल्लाको एउटा रुखको दुवैतर्फ छ वटा मात्रै घाउ हुनुपर्नेमा आठवटासम्म घाउ रहेको बिन्दास बमको गुनासो छ ।

घाउको ब्लेसफर्म काट्दा १६÷३२ हुनुपर्नेमा बढी देखिएको र ३७ इन्च गोलाइ भएको सल्लाको बोटबाट मात्रै खोटो सङ्कलन गर्न पाउने व्यवस्थालाई लत्याएर सोेभन्दा साना बोटमा समेत टुकी झुन्ड्याइएको भेटिएको छ । खोटो सङ्कलन गर्दा एक याममा ३२ रिल मात्रै हुनुपर्नेमा ३४ रिलभन्दा माथि भेटिएको स्थानीयवासीको भनाइ छ ।

कम्पनीले तालिम नदिकनै खोटो सङ्कलनमा कामदार लगाउँदा यस्तो समस्या आएको स्थानीय समाजसेवी रुद्र बिष्ट बताउनुहुन्छ । विशेषगरी भारतबाट खोटो सङ्कलन गर्न आएका कामदारले सक्दो रुपमा टिन भर्ने दाउमा नियम विपरीत कार्य गरेको उहाँको गुनासो छ ।

जिल्ला वन कार्यालयका अधिकृत बद्रीकुमार कार्कीले गत वर्ष जनजागृति सामुदायिक वनको अनुगमन गर्न जाँदा आफूले पनि यस्तै कार्य गरेको भेटाएकाले एकपटक सुध्रिनका निम्ति वन समिति र भद्रकाली रोजिनलाई निर्देशन दिनुका साथै खोटो सङ्कलन निर्देशिका विपरीत नजान भनेको पनि जानकारी दिनुभयो । रासस