यमनमा आत्मघाती आक्रमण

260

यमनमा आत्मघाती आक्रमण

yemeni

एडेन, १३ भदौ । यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित एक सैनिक तालिम केन्द्रमा सोमबार भएको आत्मघाती कारबम आक्रमणमा परी कम्तीमा ६० व्यक्तिको मृत्यु भएको छ । यमनी चिकित्सक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख छ ।

उत्तरी एडेनमा रहेको सो सैनिक तालिम शिविरमा सेनामा भर्ना हुनका लागि नयाँ सैनिकको तालिम सुरु भएको अवस्थामा सो आत्मघाती कार आक्रमण भएको थियो । यस आक्रमणमा परी ६० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका चिकित्सक स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । सुरुमा यस आक्रमणमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको सुुरक्षा अधिकारीहरुले जानकारी दिएका थिए । यमनमा सन् २०१५ को मार्च महिनाबाट सुरु भएको हत्या र हिंसामा परी ६ हजार ६ सय व्यक्तिको मृत्यु भइसकेको छ । यसरी मारिएका व्यक्तिहरु प्रायः सर्वसाधारण नै रहेका जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसा र हत्याको कारण ८० प्रतिशत जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यता परेको छ । रासस÷एएफपी