जिल्ला फिर्ता लिन भिडन्त

341

जिल्ला फिर्ता लिन भिडन्त

कुन्दुज, १४ भदौ । अफगानिस्तानको एक उत्तरी जिल्ला तालिवानले कब्जामा लिएपछि त्यसलाई फिर्ता गर्न सरकारी सेना र तालिबानबीच भिडन्त भएको छ । अफगानिस्तानमा करिब डेढ दशकदेखि हत्या हिंसा मच्चाइरहेका विद्रोही तालिवानहरुले अफगानिस्तानको उत्तरतर्फको खान अबाद जिल्ला गतहप्ता कब्जामा लिएका थिए ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज प्रान्तको खान अबाद जिल्लालाई गएको शनिबार कब्जा गरेका बताइएको छ । त्यसअघि सो जिल्लामा तालिवान र सेनाबीच भिडन्त भएको थियो । शनिबार दर्जनौँको सङ्ख्यामा रहेका तालिवानहरुले कब्जा जमाएका थिए । उनीहरुले बजार इलाकालाई कब्जामा लिएर आफ्नो नियन्त्रणमा रहेको घोषणा पनि गरेका थिए ।

त्यस यता सेनाले उक्त कब्जाबाट फुत्काउन गरेको प्रयास सफल हुन सकिरहेको छैन । सरकारी सेनाले पनि उनीहरुलाई लखेट्ने प्रयास गरेको बताएको छ । उक्त जिल्ला प्रान्तीय सदरमुकाम कुन्दुज सहरबाट २५ किलोमीटर पूर्वमा पर्दछ । तखार र कुन्दुज प्रान्तलाई जोड्ने यो प्रमुख सहर हो ।

उक्त जिल्ला कब्जागर्ने रणनीतिस्वरुप उनीहरुले बिगत लामो समयदेखि सुरक्षा निकायसँग भिडन्त गर्दै आएका थिए । सो भिडन्तका क्रममा यसअघि पनि कैयौँको ज्यान गएको छ । रासस÷सिन्ह्वा