नारीले सीप बिकासका कार्यक्रम सञ्चालन गर्ने

311

नारीले सीप बिकासका कार्यक्रम सञ्चालन गर्ने

बुटवल, १४ भदौ । बुटवलमा सञ्चालित नारी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको आर्थिक अवस्था सुधारकालागि सीप बिकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सहकारीमा शेयर राख्ने शेयर सदस्यलाई सामान्य आर्थिक कृयाकलापकालागि पैसाको आवश्यक पर्दा बाहिर ऋण लिन जानु नपरेको र व्यापार व्यबसायमा लगानी गर्दै सीप बिकासको कार्यक्रम सञ्चालन गर्ने हो भने सदस्यहरुको आर्थिक हैसियत पनि बढाउन सकिने भएकाले संस्थाले शेयर सदस्यको सीप बिकासका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष गंगा गुरुङ्ले बताउनु भयो ।

उहाँका अनुसार यस अँगाडी पनि सहकारीले शेयर सदस्यको औषधोपचारमा २५ हजार, निधन भएमा परिवार हितकालागि १० हजार र प्रशुति भएमा प्रशुति स्याहार स्वरुप २ हजार रुपैंया उपलब्ध गराउँदै आएको छ । यस्ता कार्यक्रमले थोरै भएपनि शेयर सदस्य लाभान्वीत भएको उहाँले बताउनु भयो ।

गृहिणी महिलाहरुको आर्थिक सुधारकालागि महिलालाई मात्रै सदस्य बनाउने गरी सुरु गरिएको सहकारीमा सुरुका दिनमा सदस्यता बिस्तार गर्न निकै समस्या थियो । ‘सुरुका दिनमा सदस्य बन्न आग्रह गर्दा पैसा उठाएर भाग्ने हो की भन्ने धेरैमा आशंका थियो ।’ सहकारीकी सचिव–‘लक्ष्मी लाकौलले भन्नुभयो–‘आफूहरुको ठूलो मिहिनेतले अहिले जिल्लामै महिलाहरुले मात्रै सञ्चालन गरेको सहकारी मध्ये उत्कृष्ट ठहरिएको छ ।’

नारी वर्ग उत्थानकालागि फजुल रुपमा हुने खर्च नगरेर सहकारीमा जम्मा गर्ने गरी सहकारी सुरु गरिएको सल्लाहकार संस्थापक अध्यक्ष लक्ष्मी कुवँरले बताउनु भयो । उक्त सहकारीले सोमबार बुटवलमा १६ औं साधारण सभा तथा ८ औं अधिवेशन गरेको छ । साधारण सभामा बोल्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी निरिक्षक गुणाखर खनालले जिल्लामा सञ्चालित अधिकाँस सहकारीले बचत तथा ऋणको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा काम नगरेको बताउनु भयो । भावि कार्यक्रममा भएपनि नारी सहकारीले शेयर सदस्यलाई शिप मुलक कार्यक्रम ल्याउनु सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार जिल्लामा सञ्चालित ७ सय ३८ सहकारी मध्ये ७५ वटा सहकारी महिलाले मात्रै सञ्चालन गरेका छन् । बुटवलमा मात्रै पनि ५÷७ वटा महिलाका मात्रै सहकारी छन् । तुलनात्मक रुपमा नारीका शेयर सदस्य धेरै भएपनि प्रयाप्त भने होईनन् । उहाँले सहकारीमा सेयर सदस्य बृद्धि गर्न सुझाव दिँदै त्यसका लागि एउटै प्रकृतिका सहकारी बिच मर्जर गर्न पनि सकिने उल्लेख गर्नुभयो ।

सुप्रिम सहकारीका ओम गुरुङ्, पत्रकार कबिन्द्र नेपाल, शेयर सदस्य धना लामा, लेखा समिति संयोजक पार्वती शाही लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा प्रवेशिका परीक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तती सम्मान कार्यक्रमबाट शेयर सदस्य लक्ष्मी शर्माकी छोरी लिविसा शर्मालाई नगद सहित सम्मान गरिएको थियो भने कर्मचारीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
अधिवेशनले पुन गंगा गुरुङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पा मल्ल, सचिवमा लक्ष्मी लाकौल, कोषाध्यक्षमा बालकुमारी भण्डारी र सदस्यहरुमा रिजन श्रेष्ठ, मीनु शर्मा, सीता एसी, गोमादेवी पाण्डे र शरीता भारीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।