हेभी इक्युपमेन्ट अपरेटरमा न्यौपाने

1.6K

हेभी इक्युपमेन्ट अपरेटरमा न्यौपाने

shiva neupane

बुटवल, १६ भदौ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघको आगामी दुई वर्षे कार्यकालका लागि शिवप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।

संघको बुटवलमा सम्पन्न चौथो केन्द्रीय साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षमा निर्दोष खत्री, सचिवमा प्रविण गिरी, सहसचिवमा ध्रुवराज गैरे, कोषाध्यक्षमा टुकबहादुर सारु चयन गरेको हो ।  यस्तै कार्यसमिति सदस्यहरुमा कुलबहादुर गुरुङ, मदन चौधरी, धनबहादुर कुंवर र नन्दु सोमै चयन भएका छन् । अधिवेशनमा १७ जिल्लाबाट करिब डेढ सय अपरेटरहरु सहभागी रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले हेभी इक्युपमेन्ट अपरेटरहरुलाई सरकारले चालकको मान्यता नदिनु, लाइसेन्स सहजरुपमा लिन नपाइनु, साना गाडीको लाइसेन्स लिएको दुई वर्ष पुरा हुनुपर्ने प्रावधान, व्यक्तिगत विमाको व्यवस्था नहुनु, सुरक्षाको प्रत्याभूति नहुनु  जस्ता समस्याहरु झेल्नुपरेको बताउंदै आफ्ना मागहरु सम्बोधन गर्न सरकारसंग आग्रह गर्नुभयो । उहाले आफूहरु सरकारको विकास निर्माणको काममा सबैभन्दा अगाडि खट्ने व्यक्ति भएपनि सुरक्षाका हिसाबले  निकै जोखिमपूर्ण रहेको तर राज्यले उपेक्षा गरेको गुनासो गर्नुभयो ।

संघको सल्लाहकारमा हरिबहादुर थापा, दानबहादुर गुरुङ, भुपबहादुर ओली र राजु नेपालीलाई चयन गरेको छ । अधिवेशनको उद्घाटन नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुंवरले गर्नु भएको हो । उद्घाटनका अवसरमा हेभी इक्युपमेन्ट व्यवसायी महासंघका केन्द्रीय सदस्य फणिन्द्र भट्ट, महासंघका रुपन्देही अध्यक्ष एवं केन्द्रीय सदस्य महेश भट्ट, बुटवल हेभी इक्युपमेन्ट डिभिजन कार्यालयका मेकानिकल इन्जिनियर नवीन घिमिरे, फोर्स कन्स्ट्रकसन एशोसिएट्स प्रा.लिका प्रबन्ध निर्देशक केदार लामिछाने, दुगड ब्रदर्स एण्ड सन्स प्रालिका नन्दकिशोर भट्ट, लिसरा कन्स्ट्रक्सन प्रा.लि.का भक्तबहादुर बुचा लगायतले बोल्दै पेशागत हकअधिकारका लागि अपरेटरहरु संगठित हुनुपर्नेमा जोड दिनुभयो ।