सेनाद्वारा उद्धार तालिम

456

सेनाद्वारा उद्धार तालिम

बागलुङ, १७ भदौ । सम्भावित प्रकोपबाट बच्न तथा क्षति कम गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई आधारभूत खोज, उद्धार तालिम दिइएको छ । गाजा युवा क्लब बागलुङको ‘सुरक्षित विद्यालय परियोजना’बाट सो तालिम सञ्चालन गरिएको हो । दुई चरणमा गरी जिल्लाका पाँच विद्यालयबाट ६० जना सहभागी थिए ।

सहभागीलाई खोज र उद्धारसम्बन्धी आधारभूत ज्ञान, सीप नेपाली सेना र अन्य विषय विज्ञले प्रदान गरेको परियोजनाका कार्यक्रम व्यवस्थापक सूर्यप्रसाद कँडेलले बताउनुभयो । पहिलो चरणको तालिममा बौंडेचौर मावि सिगाना, सिगाना मावि सिगाना, सिगाना मावि तित्याङ, तित्याङ मावि तित्याङ र नारायणस्थानको जनताधन माविबाट व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थी सहभागी थिए ।

यस्तै, बुधबारदेखि शुक्रबारसम्म चलेको दोस्रो चरणको तालिममा धम्जाको लक्ष्मी मावि, जनता मावि धम्जा, धारा मावि तङ्ग्राम, नारायणी मावि तङ्ग्राम र रायडाँडाको महाविद्याजन माविलाई सहभागी गराइएको थियो । तालिममा नेपाली सेनाको बागलुङस्थित अर्जुन बाँण गणका अधिकृतले विभिन्न विधि अपनाएर गर्न सकिने उद्धारका उपाय र सीप सिकाएका थिए ।

गणका प्रमुख सेनानी अजय रानाले चट्टानयुक्त पहाड उक्कले, खोला तर्ने, खोँचमा अड्किएको घाइतको उद्धार गर्ने तरिका र सीपमूलक ज्ञान सहभागीलाई प्रदान गरिएको बताउनुभयो । तीन दिनसम्म चलेको तालिममा सहभागीले प्रत्यक्ष रुपमा बागलुङको काठेखोला र आसपासका अग्ला भिरमा पुगेर खोज, उद्धारको अभ्यास गरेका थिए ।

“कुनै प्रकोप, विपत्ति आउँदा तत्काल उद्धार गर्ने सीप र तरिकाहरु सिकाएका छौँ” – सेनानी रानाले भन्नुभयो । उहाँका अनुसार तालिममा सहभागी विद्यालयहरुमा उद्धार कार्यदलसमेत गठन गरिएको छ ।

“गाउँघरमा प्राकृतिक प्रकोप र अन्य विपत्तिका घटनामा हामीले सिकेको सीप काम लाग्नेछ’ अध्यक्ष कार्कीले भन्नुभयो ‘यसले विद्यालयलाई मात्र नभएर समुदायलाई फाइदा पु¥याउनेछ ।’ युरोपियन युनियनको आर्थिक सहयोगमा प्लान नेपालमार्फत् गाजा युवा क्लब बागलुङले तालिम सञ्चालन गरेको हो । रासस