विकास र समृद्धिका लागि राष्ट्रिय एकता : उपराष्ट्रपति

1.3K

विकास र समृद्धिका लागि राष्ट्रिय एकता : उपराष्ट्रपति

up Nanda-Bahadur-pun

ललितपुर, १७ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको विकास र समृद्धिका लागि राष्ट्रिय एकता अनिवार्य रहेको बताउनुभएको छ । किराँत याक्थुङ चुम्लुङ केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित २८ आँैं स्थापना दिवसको उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकताका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘के प्रतिपक्ष के सरकार’ पक्ष, राष्ट्रलाई सबल र मजबुत बनाउन सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । उपराष्ट्रपति पुनले सबै राजनीतिक दल र आम नागरिक एक–आपसमा एकताबद्ध भएर देशलाई आर्थिक रुपमा समृद्ध बनाउनुको कुनै विकल्प नभएको बताउँदै समृद्ध नेपालले मात्र देशको हित गर्न सकिन्छ भन्नुभयो ।

उहाँले संविधानमा सबै वर्ग जातिको अधिकारलाई सुनिश्चित् गरिएको उल्लेखगर्दै सात दशक लामो राजनीतिक सङ्घर्षबाट प्राप्त भएको संविधानले हरेक नेपालीको हक अधिकारलाई सुनिश्चित गरिएको बताउनुभयो । हरेक समुदायको आ–आफ्नो पहिचान भएपनि एकले अर्काको पहिचानलाई सम्मान गर्न सकेमा मात्र राष्ट्रको पहिचान हुन सक्ने बताउँदै उहाँले प्राकृतिक रुपमा सुन्दर रहेको हाम्रो देशलाई विभिन्न भाषाभाषी, वेशभूषा, संस्कृति र धर्मले झन सुन्दर बनाएको छ भन्नुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष एवम् सांसद नगेन्द्र कुमालले स्थानीय तह पुनःसंरचनामा पहिचान नमेटिने किसिमको नामाकरण गरिनुपर्नेमा जोडदिदैं जनसङ्ख्या र भूगोल दुबैलाई आधार मानेर पुनःसंरचना गरिनुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष उत्तमसिंह थाङ्देनले किराँतको अधिकारका लागि संस्था स्थापना भएको बताउनुभयो ।