बुटवल, १८ भदौ । ईलाका प्रहरी कार्यालय बुटवलले मादक पदार्थ सेवन गरेर सवारी हांकेका २५ जनालाई कार्वाही गरेको छ ।
प्रहरीले शुक्रबारराती आठ बजेदेखि ११ बजेसम्म बुटवलका विभिन्न स्थानमा चेकजाँच गर्दा मापसे गरेका २५ जना र सवारी चालक अनुमतिपत्र तथा ब्लुबुक नबोकेका ४ मोटरसाईकल तथा स्कुटर चालकलाई कार्वाही गरेको हो । सवारी कार्वाहीका क्रममा प्रहरीले २५ हजार रुपैयाँ राजश्व उठाइएको समेत जनाएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले मादक पदार्थ सेवन गरी सवारी हांक्दा जनधनको क्षति हुने भएकाले त्यसलाई रोक्न र सुरक्षित तरिकाले मर्यादित भएर चाडबाड मनाउन प्रहरीले मापसे चेकिङ्गलाई तिब्र पारेको बताउनुभयो ।
उहाँले नेपालका साँस्कृतिक चाडवाड भित्रिन थालिरहेको अवस्थामा कुनैपनि किसिमका आपराधिक कृयाकलाप हुन नदिन र आम नागरिकको जिउधनको सुरक्षाका लागि प्रहरी गस्ती र चेकिङ्गलाई चुस्त दुरुस्त राखिने बताउनुभयो ।