बाबुरामको ‘अविराम बाबुराम’

1K

बाबुरामको ‘अविराम बाबुराम’

baburam

काठमाडौँ, १८ भदौ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको जीवनीमा आधारित भएर लेखिएको ‘अविराम बाबुराम’ नामक कृतिको आज यहाँ सार्वजनिक गरिएको छ ।

पत्रकार अनिल थापाले लेख्नुभएको उक्त पुस्तक डा भट्टराईका पिता भोजप्रसादले लोकार्पण गर्नुभयो । पुस्तकमा बाबुरामको बाल्यकालदेखि राजनीतिक कालखण्डलाई पुस्तकमा उतारिएको छ । साङ्ग्रीला बुक्सले प्रकाशन गरेको पुस्तकबारे टिप्पणी गर्दै राजनीतिज्ञ दुर्गा सुवेदीले सैद्धान्तिक अध्ययन गरेर डा भट्टराई राजनीतिमा आएको आफूले पाएको बताउनुभयो । पार्टी नेतृत्वलाई देवत्वकरण गर्नु राजनीतिको गलत प्रवृत्ति रहेको उहाँको धारणा थियो ।

पुस्तकबारे टिप्पणी गर्दै नेकपा(एमाले) नेता प्रदीप ज्ञवालीले आम जनताले थाहा नपाएका धेरै विषय पुस्तकमा उल्लेख भएको बताउँदै लेखन क्रममा लेखकले तटस्थता देखाउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले बाबुरामको राजनीतिक जीवनको पछिल्लो समय सिद्धान्तमा प्रस्टता नभएपनि सशस्त्र सङ्घर्षबाट अगाडि बढेको पार्टीलाई लोकतान्त्रिक धारमा ल्याउन सक्नु उहाँको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।

त्यस्तै अर्का टिप्पणीकार मनु हुमागाईंले लोकतान्त्रिक गणतन्त्रको नारा सुरु गरी संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा भट्टराईको जीवनमा आधारित पुस्तक पठनीय भएको बताउनुभयो । सो अवसरमा पुस्तकका नायक डा भट्टराईले आफ्नो बारेमा लेखिएको पुस्तकको गुण दोषबारे टिप्पणी गर्नु उयुक्त नहुने बताउँदै भन्नुभयो, “पुस्तकमा उल्लेख भएका तथ्यहरु सत्य हुन्, विश्लेषण लेखकका आफ्ना हुन् ।”

उहाँले राजनीतिमा आउनुभन्दा पहिले नै आफूले मानव जातिको गतिशील भएर लाग्ने प्रण गरेको उल्लेख गर्दै लेखकले भने जस्तै अविरामयात्रीका रुपमा परिचित हुन चाहेको धारणा राख्नुभयो । आफूले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको सैद्धान्तिक विचारधाराका विषयमा स्पष्ट पार्दै डा भट्टराईले भन्नुभयो, “द्वन्द्वात्मक भौतिकवादको समृद्धीकरण गरेर जानुपर्छ स्पस्ट मान्यता हो, तर पनि विचार र विज्ञान सधैँ परिवर्तन हुनुपर्छ ।”

चार खण्डमा विभाजित पुस्तकमा डा भट्टराईको जीवनको आरोह अवरोह, खोप्लाङ्देखि जेएनयुसम्म र जनयुद्धका मोडहरु, प्रचण्ड–बाबुराम टकराव र अविराम यात्राको वर्णन गरिएको छ । १६ वटा अनुसूचीमा विभिन्न डा भट्टराईसँग सम्बन्धित दस्तावेज र डायरीहरु पनि समावेश गरिएको छ ।