पोखरा, १९ भदौ । पोखराको मुख्य बजार चिप्लेढुङा पन्थिगल्लीस्थित सर्वेश्वरमार्गमा जमिन भासिँदा दुई घर जोखिममा परेका छन् । गत रातभरी परेको अबिरल वर्षाका कारण बाटोको पानी घरको जगभित्र छिर्दा राधाकृष्ण रौनियारको घरका दुवै सटर झरेका छन् भने प्रेम अधिकारीको चारतल्ले घरसमेत जोखिममा परेको छ ।
दिनभरी ब्यापार गरेको राति घर गएको र बिहान पसल रहेको सटर भासिएको सुन्दा आफू अचम्ममा परेको कस्मेटिक पसल सञ्चालक ध्रुवशरण पराजुली बताउनुहुन्छ । पोखराको विन्ध्यवासिनी घरभई व्यापार गर्दैै आउनु भएका उहाँ भन्नुहुन्छ, पोखरामा केही दिन यता अत्यधिक वर्षा भएको कारण सडकमा ढलको व्यवस्था नहुँदा जमिन भित्र पानी छिरेर भासिएको हुन सक्दछ ।
उक्त भासिएको स्थानको पोखरा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरी भासिएको भ्वाङ स्थानीय पहलमा पुरेपछि बाटो सुचारु गरिएको जिल्ला प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
पोखरा उपत्यकाको भूवनोटको परीक्षण गरी कमजोर स्थानमा तुरुन्त व्यवस्थित ढल निर्माण गरिनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।