काठमाडौँ, २२ भदौ । वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ । विभागका महानिर्देशक गौरीशङ्कर तिमला गत साउन ४ गते अनिवार्य अवकास लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशक विहीन बनेको हो ।
विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले महानिर्देशक नहुँदा विभागका महत्वपूर्ण निर्णय गर्न गाहे हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला वन अधिकृतले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ तर महानिर्देशक नहुँदा समस्या परेको छ ।” यस्तै विभागलाई कुन रुपले अगाडि लैजाने, कुन कार्यक्रमलाई प्राथमिकता दिने भन्ने बारेमा समेत निर्णय लिन गाहे पर्ने गरेको प्रवक्ता डङ्गोलले बताउनुभयो ।
हाल विभागमा गणेश झालाई निमित्त महानिर्देशक तोकेको छ । महानिर्देशक नहुँदा दैनिक एकदर्जन सेवाग्राही विना काम फर्कनु परेको छ । यस्तै कर्मचारीको भदौमा हुने सरुवा पनि प्रभावित हुने गरेको विभागले जनाएको छ ।