
काठमाडौँ,असाेज/भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आइतबार प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)लाई अन्तर्वार्ता दिँदै नेपालको तर्फबाट स्पष्ट अडान राखेका छन् । भारतले आश्वासन दिए पनि नाकामा अवरोध नहटाएकोमा उनले आपत्ति जनाएका छन् ।
भारतले पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक दैनिक उपभोग्य वस्तु रोकेर नेपाललाई भित्तामा नपुर्याओस् । अन्यथा नेपाल आपूर्ति समस्या समाधान गर्न चीनको सहयोग लिन बाध्य हुनेछ ।
भारतले नेपाली नेतृत्वलाई सक्दो छिटो समस्या समाधान गर्ने आश्वासन दिएको थियो । अब उनीहरूले निश्चित समयसीमा दिनुपर्छ । सक्दो छिटो भनेको के हो ? यसको अर्थ कति घन्टा, कति साता वा कति महिना हो ?
भारतले नेपाललाई ‘गर या मर’ को अवस्थामा पुर्याएकाले अब नेपाल चीनलगायत अन्य देशसँग सम्बन्ध अगाडि बढाउन बाध्य हुनेछ ।
भूकम्पले क्षति पुर्याउँदा जब भारतले नेपाललाई सहयोग गरेको थियो, त्यतिवेला नेपालका सबैले भारतको प्रशंसा गरेका थिए । अहिले आपूर्ति रोक्दा जनताले प्रतिक्रिया जनाउँछन्, विरोध गर्छन् । यो प्राकृतिक हो ।
नेपाल सरकारले भारतका गाडी नेपाल छिरेपछि तिनको सुरक्षा गर्ने प्रतिबद्धता जनाइसकेको छ।
भारतले नेपालले गरेका सबै नकारात्मक काम र गल्तीहरू बिर्सनुपर्छ, यसले दुवै देशको समृद्धिमा सहयोग गर्छ र यसले दुवै देशको सांस्कृतिक र सामाजिक सम्बन्ध थप सुदृढ बनाउँछ।
संविधानका नयाँ प्रावधान तथा सर्तबारे जानकारी दिन हामी छिटै सम्मेलन आयोजना गर्नेछौँ ।