प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

169

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

हरि लामिछाने/
नयाँदिल्ली, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा केही बेरअघि यहाँ आइपुग्नुभयो । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो ।

प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायतलाई उहाँहरूले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनुहुनेछ । प्रधानमन्त्री दाहालले आज अपराह्न यहाँस्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ । आजै साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सरिक हुनुहुनेछ ।

प्रतिनिधिमण्डलका अन्य सदस्य पनि दुवै समारोहमा सहभागी हुने कार्यक्रम छ । रासस