‘हामी कवि र कविता’

1.3K

‘हामी कवि र कविता’

काठमाडौँ, असोज । हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौँ भन्ने मुख्य उद्गारका साथ आयोजित ‘हामी कवि र कविता’को आजको शृङ्खलामा कवि हेमन्त यात्री र सविता विमलीका कविता सुनिए ।

कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा श्री लुनधीकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा हरेक महिनाको १ गते हुने उक्त कार्यक्रममा कवि यात्री र विमलीका करिब एक दर्जन कविता सुन्नका लागि हलमा मानिसको उपस्थिति उल्लेख्य थियो ।

समसामयिक राजनीतिक विषयवस्तु, समाजका विसङ्गति, नारी पीडा, संवेदनालाई कविहरुले कवितामार्फत प्रस्तुत गर्नुभएको थियो ।

प्रत्येक महिना साहित्यिक क्षेत्रमा सक्रिय कविका सिर्जनालाई दर्शकमाझ ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राज शाहले जानकारी दिनुभयो ।

विशेषगरी नाटक प्रदर्शनी र नाटक विषयको अध्ययन गराउँदै आएको सर्वनाम थिएटरले केही वर्षदेखि साहित्यिक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिँदै आएको छ ।