बुटवल, ३ असोज । सहकारीको ऐन नियम अनुसार संस्थागत सुधार गर्दै सहकारीलाई अँगाडी बढाउने बुटवलमा सञ्चालित सजिलो वचत तथा ऋण सहकारी संस्थाले निर्णय गरेको छ ।
संस्थाको सोमबार बुटवलमा सम्पन्न आठौं वार्षिक साधारण सभाले शेयर सदस्यलाई ऋण लगानी गर्दा पुँजी कोषको १० प्रतिशत भन्दा बढी लगानी गर्न नपाईने सहकारी नीति अनुसार सहकारीलाई अँगाडी बढाउने निर्णय गरेको छ भने बुटवल नगरपालिका मात्रै कार्यक्षेत्र रहेको उक्त सहकारीको कार्यक्षेत्र रुपन्देही जिल्ला भरी बनाउने प्रस्ताव समेत पारित भएको छ ।
उक्त सहकारीको कार्यसमितिको दुई वर्षे कार्यकाललाई बढाएर तीन वर्षे बनाउने प्रस्ताव पनि पारित भएको अध्यक्ष अम्बरबहादुर खड्काले बताउनु भयो । साधारण सभामा बोल्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारीलाई प्रतिस्पर्धी बनाउनकालागि पनि शेयर सदस्य संख्या बढाउन आग्रह गर्नुभयो ।
उक्त सहकारीमा हाल २ सय ५५ जना शेयर सदस्य छन् । उक्त साधारण सभाको अवसरमा प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरु अमन अर्याल, लक्ष्मी खड्का, विनिता भट्टराई, सरस्वती अर्याल र सर्मिला बिसीलाई पुरस्कृत गरिएको थियो ।
सहकारीका अध्यक्ष अम्बरबहादुर खड्काको अध्यक्षतामा भएको उक्त साधारण सभामा सल्लाहकार गोविन्द मरासीनी, उपाध्यक्ष रामराज पोखरेल, शेयर सदस्य तथा नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव विश्वबन्दु विनयीले गर्नुभएको थियो ।