बुटवल, ७ असोज । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको जिल्ला परिषद बैठकको तयारी पुरा भएको छ । परिषद बैठकमा संस्थाले गरेका काम कारवाहीको बारेमा समिक्षा गर्नुका साथै भावी रणनीति तय गरिने अध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो ।
मुलुकको संघीय पुनसंरचना अनुसार संस्थालाई कसरी अंगाडी बढाउने भन्ने विषयमा पनि बहस गरिने छ भने केन्द्रले लिएको नीति तथा शंसोधन हुँदै गरेको बिधानका बिषयमा पनि छलफल हुने छ । उक्त परिषद बैठकको अवसरमा युनियनले जिल्लाका संस्थापकहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।
त्यस्तैगरी आत्मनिर्भर हुनकालागि महिलाले गरेको पौरखलाई सम्मान गर्नेगरी ई–रिक्सा चलाउने महिला चालकलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै जिलाफको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले सञ्चालन गरेको अनौपचारिक वालशिक्षा कार्यक्रमका ५० जना वालबालिकालाई बिद्यालय पोषाक तथा झोला वितरण गर्ने कार्यक्रम युनियनले तय गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बिहान ११ बजे हुने उक्त कार्यक्रममा रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, सांसद तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, उपाध्यक्ष गणेश निरौला लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।