बुटवल, ८ असोज । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्न सरकारसंग माग गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको आज बुटवलमा सम्पन्न जिल्ला परिषद बैठकले सरकार समक्ष उक्त माग गरेको हो ।
उक्त धागो कारखाना सञ्चालनमा आए धेरै मजदुरले रोजगारी पनि पाउने र त्यहाँबाट उत्पादित धागो भारतमा निर्यात हुँने हुँदा मुलुकको आर्थिक बिकासमा पनि योगदान पुग्ने भएकाले पुनः सञ्चालन गर्न माग गरिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो ।
उक्त परिषद बैठकले सांगठनिक गतिबिधी तथा विगतमा भएका काम कारवाहीका बारेमा समिक्षा गर्नुका साथै भावी रणनीति तयार गरिएको छ । परिषदमा प्रस्तुत अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित गर्नुका साथै नेपाल ट्रेड युनियन काँग्रेसको छैठौ महाधिवेशन बुटवलमा गर्ने केन्द्रलाई प्रस्ताव गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अव्दुल रज्जाकले ट्रेड युनियन आन्दोलनबाट स्थापित भएको नेपाली काँग्रेसले मजदुरका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले मजदुरका समस्यामा मौन बस्ने हो भने पार्टीको भविश्य पनि बिग्रिँदै जाने भएकाले मजदुरका समस्या सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाल ट्रेड युनियनका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले भने मजदुरका समस्या समाधानकालागि सरकार गम्भिर नभएको आरोप लगाउनु भएको छ । उहाँले मजदुर आन्दोलनको जगबाट राजनीतिक परिवर्तन भएपनि राजनीतिक परिवर्तनको जगमा बनेको सरकारले मजदुरका समस्यालाई वेवास्ता गर्नु राम्रो नहुने बताउनु भयो । उहाँले ट्रेड युनियनमा शक्ति आर्जन गर्नकालागि संगठन र सदस्यता सुदृणीकरण गर्न युनियनले शुरु गरेको बताउँदै उहाँले युनियनले अव प्रत्येक सदस्यको अभिलेख राख्नेगरी काम सुरु गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष गणेश निरौला, सहकोषाध्यक्ष जनार्दन निरौला, पूर्व उपमहासचिव ऋषवदेव घिमिरे, कृषि श्रमिक संघकी केन्द्रीय अध्यक्ष बिमला गैरे, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, महाधिवेशन प्रतिनीधि युवराज गिरी, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्य, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ्, रिक्सा तथा ठेला मजदुर संघका प्रकाश पाठक, जिल्लाका संस्थापक भरतबहादुर केसी, पूर्व अध्यक्ष चन्द्रवली यादव, आवद्ध संघ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष विश्ववन्दु विनयी, निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य कृष्ण तिमिल्सेना लगायतले भनाई राख्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका संस्थापकहरु कृष्णप्रसाद न्यौपाने, भरतबहादुर केसी र रामकृष्ण भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै ई–रिक्सा चलाउने महिला चालकहरु देउकुमारी सारु, अनु आले मगर, नर्मता गुरुङ् र मायाँरुपी चौधरीलाई पनि सम्मान गरिएको छ ।
त्यस्तैगरी जिलाफको सहयोगमा बुटवलमा सञ्चालित अनौपचारिक बालशिक्षा कार्यक्रमका बालबालिकाहरुलाई पनि झोला र बिद्यालय पोशाक वितरण गरिएको छ । उपाध्यक्ष ओमप्रकाश चौधरीको स्वागतमा भएको कार्यक्रममा धन्यवाद अर्का उपाध्यक्ष रामचन्द्र उपाध्याय तथा सञ्चालन बुटवल नगर संयोजक किशोर क्षेत्रीले गर्नुभएको थियो ।