बुटवल, ९ असोज । नेपाल रोडा ढुङ्गा उद्योग व्यबसायी संघ रुपन्देहीले उद्योग सञ्चालन गर्ने वातावरण मिलाईदिन रक्षामन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेको छ । संघको एक टोलीले आज मन्त्री खाँणलाई बुटवलमा भेटेर उद्योग सञ्चालनको व्यबस्था मिलाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।
‘रोडा ढुङ्गा उद्योगमा रुपन्देहीमा मात्रै अर्बौं लगानी छ ।’ संघका अध्यक्ष गोपाल ज्ञवालीले भन्नुभयो –‘नविकरण नभएको र मापदण्ड नपुगेको भन्दै जिल्ला बिकास समितिले गत साउन एक गतेदेखि उद्योग बन्द गराएको छ ।’ सरकारले प्रत्येक वर्ष नविकरण गर्नुपर्छ । तर यो वर्ष रोडा ढुङ्गा उद्योगलाई सरकारले नविकरण गरेको छैन । सरकारले नविकरण नगरेकै कारण जिल्ला बिकास समिति रुपन्देहीले नदिजन्य उत्पादन उत्खनन्मा रोक लगाएको छ । तर अन्य जिल्लामा भने जिल्ला बिकास समितिले त्यसरी रोक लगाएको छैन ।
रुपन्देहीमा मात्रै यसरी उत्खनन्मा रोक लगाउँदा उद्योगी व्यबसायीलाई ठूलो मर्का परेको अध्यक्ष ज्ञवालीले बताउनु भयो । रुपन्देही जिल्लामा ३२ वटा क्रसर उद्योग छन् । यी उद्योग सञ्चालन हुँदा जिल्ला बिकास समितिको आम्दानीको राम्रो स्रोत पनि हुने र प्रत्यक्ष ३ हजार र अप्रत्यक्ष रुपमा २० हजारले रोजगारी प्राप्त गरेका उहाँले बताउनु भयो ।
क्रसर उद्योगको उत्पादन बन्द हुँदा जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना प्रभावित भएको पनि उहाँले बताउनु भयो । उहाँका अनुसार जिल्लामा हुने बिकास निर्माणका काममा ८० प्रतिशत निर्माण सामाग्री क्रसर उद्योगले दिने भएकाले पनि उद्योग सञ्चालनको अपरिहार्यता रहेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले केही दिन भित्रै क्रसर उद्योग सञ्चालनको वातावरण बन्ने आश्वासन दिनुभएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।