
बुटवल, १५ असोज । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सस्तो दशैं मेला सुरु भएको छ । आज घटस्थापना देखि सुरु भएको दशैमेला यहि असोजको २० गतेसम्म ६ दिन चल्ने छ ।
उक्त सस्तो दशैं मेलाको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गर्नुभएको हो । मेलाको उद्घाटन कार्यक्रममा प्रजिअ ढकालले समाजिक सेवा भावले सञ्चालन हुने यस्ता क्रियाकलापले यस क्षेत्रको बिकासमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गर्दै दशैं बजार पनि सामाजिक सेवाको एउटा हिस्सा भएको उल्लेख गर्नुभयो । उहाँले दशैं बजारलाई व्यबस्थित र उपयोगि बनाउनकालागि पनि आयोजकलाई आग्रह गर्नुभयो ।
खुला सीमानाकाका कारण रुपन्देहीका सिमावर्ती भारतीय क्षेत्रमा रहेका बजार गुञ्जायस हुने र नेपाली बजारमा चहलपहन नभएको भन्दै खुला सीमानाकालाई कडाई गर्न माग गरेको थिए । त्यसको प्रतिउत्तरमा प्रजिअ ढकालले भारतीय प्रशासन तथा व्यबसायीसंग यस बिषयमा आफूले पनि कुरा गरेको बताउँदै सस्तो दशैं बजार नेपाली बजारको व्यबसाय बिस्तारमा समेत उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
मेला पर्वको अवसरमा भारतबाट नेपाल आउने नेपालीहरुलाई पनि सीमा क्षेत्रमा भएगरेका विगतका जस्तो सास्ती व्यहोर्नु नपरोस भनेर भारीय सुरक्षा निकायसंग औपचारिक अनौपचारिक कुरा गरेको र सकारात्मक जवाफ पाएको उहाँले बताउनु भयो । त्यस्तै नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य व्यबस्थापक रेवतीप्रसाद नेपालले उत्पादकलाई उपभोक्तासम्म पुग्न र उपभोक्तालाई गुणस्तरीय बस्तु सुपथ मुल्यमा पाउन दशैं बजार सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको सस्तो दशैं बजार उद्घाटन कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल, महासचिव हरिप्रसाद अर्याल, दशैं बजारका संयोजक बिमलराज भट्टराई, लगायतले मेला बारेमा भनाई राख्नुभएको थियो ।
संघ सचिवालय परिसरमा सञ्चालित उक्त ६ दिने सस्तो दशैं मेलामा खाद्य तथा उपभोग्य बस्तुका ४२ वटा स्टल राखिएको छ । त्यस्तै नेपाल राष्ट्र बैंक मार्फत नयाँ नोट सटहीको समेत व्यबस्था मिलाईएको संयोजक भट्टराईले बताउनु भयो । उहाँका अनुसार मेला अवधीभर बस्तुको खरिदमा १० देखि ४० प्रतिशत सम्म छुटको व्यबस्था गरिएको छ भने सहुलियत मुल्यमा छपियाको माछाको समेत उपलब्ध गराईएको छ ।