विद्युतका कर्मचारी आन्दोलनमा

1.3K

विद्युतका कर्मचारी आन्दोलनमा

aandolan-bidhut

बुटवल, ३ कात्तिक । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीहरुले आफुहरुलाई म्यादी वा स्थायी गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

आफूहरुलाई म्यादीमा बढुवा गरी स्थायी गरिनुपर्ने माग गर्दै देशभरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलमा मंगलबार र बुधबार दुई दिन धर्ना दिए । धर्ना कार्यक्रममा बोल्दै क्षेत्रीय अध्यक्ष ताराप्रसाद बस्यालले यस अगाडि ज्यादारीमा काम गर्दै आएका ज्यालादारीहरुलाई जस्तै अहिले ज्यालादारीमा काम गर्ने कर्मचारीलाई पनि म्यादीमा बढुवा गरी स्थायी प्रक्रियामा नलगिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।

ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिदा उनीहरुले गर्ने मिटर रिडिङ, मर्मत, प्रशासन, काउन्टर काम ठप्प भएका छन् । बस्यालले आन्तरिक रुपमा आफूहरुलाई स्थायी नगरिए मंसिर दुई गतेदेखि कडा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिनुभयो । ८ वटा वितरण केन्द्र अन्तर्गत पाल्पा, गुल्मी, अर्घाखांची, कृष्णनगर, तौलिहवा, बुटवल, कावासोती, परासीमा गरी २ सय २० जना १० वर्षदेखि ज्यालादारीमा काम गर्दै आएका छन् ।

धर्ना कार्यक्रममा बोल्दै ज्यादारी कर्मचारीका केन्द्रीय सदस्य गजेन्द्र लामिछानेले आफूहरु सम्पूर्ण उर्जाशील समय प्राधिकरण बिताएको भन्दै खुला प्रतिष्पर्धा नगराई आन्तरिक रुपमा स्थायी गर्न प्राधिकरणस“ग आग्रह गर्नुभयो । देशभर ८ वटा क्षेत्रीय कार्यालयमा गरी एक हजार ९ सय ७५ जना कर्मचारीहरु ज्यादारीमा काम गर्दै आएका छन् ।

कार्यक्रममा विद्युत प्राधिकरण कर्मचारी संघका क्षेत्रीय सचिव रोहिन्द्रप्रसाद भण्डारीले सिधै स्थायी गनुपर्ने भन्दा म्यादीका लागि दवाव दिन आवश्यक रहेको बताउनुभयो । अहिले विद्युत प्रधिकरणमा कर्मचारी स्थायी नियुक्ति गर्ने जिम्मा लोक सेवा आयोगले लिएको छ ।