नयाँ निर्देशिका प्रति घरबहाल महासंघको बिरोध

1.3K

नयाँ निर्देशिका प्रति घरबहाल महासंघको बिरोध

ghar
बुटवल, ९ कात्तिक । बिगत लामो समयदेखि नेपालमा मुख्य समस्याका रुपमा रहेको घरभाडा सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले ल्याइएको घरबहाल सम्बन्धि निर्देशिका भाडावालाको हितमा नरहेको भन्दै बिरोध गरिएको छ ।

संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयले हालै जारी गरेको घरबहाल सम्बन्धि निर्देशिका मन्त्रालयको निर्णय एकपक्षिय भएको भन्दै सरोकारवालाहरुले बिरोध गरेका छन । मन्त्रालयले सरोकारवालाहरुसँग कुनै छलफल बिना नै घरबहाल सम्बन्धि नयाँ निर्देशिका जारी गरेको भन्दै घरबहाल सरोकार महासंघ नेपालले आपत्ति जनाएको हो ।

महासंघले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयले स्थानिय निकायलाई घरबहाल सम्बन्धि परिपत्र गरेको निर्देशिका प्रति आपत्ति जनाएको हो । महासंघका अनुसार मन्त्रालयको मिति २०७३÷६÷७ गतेको सचिब स्तरिय निर्णय भन्दै मुलुक भरका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुलाई जारी गरेको निर्देशिकामा उल्लेखित बुंदाहरु अब्यबहारिक र ब्यबसायी तथा घरबहालमा बस्नेहरुलाई मर्का पार्ने खालको भएको महासंघको आरोप छ ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष शंकर कोईरालाले घरबहाल सम्बन्धि बिधेयक संसदमा बिचाराधिन रहेको अबस्थामा मन्त्रालयले सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी हठात रुपमा उक्त निर्देशिका जारी गरेको भन्दै त्यसमा उल्लेखित बुंदाहरुलाई तत्काल सच्याउन माग गरेका छन ।

निर्देशिकामा घरधनीले प्रत्येक बर्ष १० प्रतिशतका दरले घरबहाल बृद्धि गर्न सक्ने, घरबहालमा बस्नेहरुलाई छोड्ने तथा छोडाउनका लागि ३५ दिन अगाडी सूचना दिए पुग्ने जस्ता बहालवालाको बिरुद्धमा कार्यबाही हुने बुंदाहरु उल्लेख भएका कारण त्यसले थप जटिलता ल्याउने दाबी पनि गरेका छन । मर्मत सम्भार तथा बिजुलि बत्तिको उपभोग एवं त्यसको शुल्क सम्बन्धमा निर्देशिकामा उल्लेखित बुंदाहरु अस्पष्ट भएकोले निर्देशिका तत्काल सच्याउनु पर्ने कुरामा अध्यक्ष कोइरालाले जोड दिएका छन ।

हालै जारी गरीएको निर्देशिका तत्काल नसच्याए महासंघले बिरोधका कार्यक्रम अघि बढाउने चेतावनी कोईरालाले दिए । तत्काल प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाउने र त्यसोगर्दा समेत नसच्याए अदालतको ढोका ढकढक्याउन बाध्य हुने चेतावनि समेत महासंघले दिएको छ ।

कार्यक्रममा महासंघका सचिव लेखनाथ भण्डारीले ब्यबसायिहरुलाई बिस्थापित गराउने खालको निर्देशिका तत्काल सच्याउनु पर्ने कुरामा जोड दिँदै बिगत लामो समयदेखि चेपुवामा परेका घरबहालमा बस्ने ब्यबसायिहरुलाई सरकारले राहतको सट्टा आहत प्रदान गरेको टिप्पणी गरे । महासंघका सल्लाहकार हरिश ढकालले परिपत्र गरिएको निर्देशिकाले बहालमा बसोबास गर्नेहरुलाई आतंकित बनाएको उल्लेख गर्दै सरोकारवालासँग छलफल गरेर मात्र सो निर्देशिका संसोधन गर्नुपर्ने बताए ।