बुटवल, २४ कात्तिक । नेपाली काँग्रेसका संस्थापक नेता, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्व. गणेशमान सिंहको १०२ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भैरहवा स्थित पार्टी कार्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद भरतकुमार शाहले स्वर्गीय नेता गणेशमान सिंह प्रजातन्त्रका धरोहर भएकाले उहाँले देखाएको बाटोमा हिड्न सकेमा मात्रै प्रजातन्त्र प्रतिको सच्चा सम्मान हुने बताउनु भयो । अहिले मुलुकको पुनसंरचनाको काम भईरहेकाले स्थानीय तहको पुनसंरचनामा विशेष ध्यान पु¥याउन उहाँले आग्रह गर्नुभयो ।
जिल्ला सचिव रामकृष्ण खाँणको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक मदन कट्टेल र महाधिवेशन प्रतिनीधि युवराज गिरीले स्व. नेता सिंहको जिवनी र उहाँले देखाएको राजनीतिक मागका बारेमा चर्चा गर्नुभएको जिल्ला सदस्य चन्द्रमणी शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व जिल्ला उपसभापति मनोरमा शेरचन, महिला संघकी रिजन श्रेष्ठ, तरुण दल रुपन्देहीका जिल्ला सभापति सोमबहादुर गुरुङ्, जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, सदस्य सुरेन्द्रजंग थापा लगायतले धारणा राख्नुभएको थियो ।