प्रतिष्ठानमा मौलाएका बिकृति रोक्न सिबिए निर्वाचन

1.3K

प्रतिष्ठानमा मौलाएका बिकृति रोक्न सिबिए निर्वाचन

t-rade-union

बुटवल, ३ मंसिर । नेपाल बित्तिय संस्था कर्मचारी संघले बित्तिय संस्थामा आधिकारिक ट्रेड युनियन(सिबिए) निर्वाचन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

संघको राष्ट्रिय कार्यसमितिले आज रुपन्देहीको भैरहवामा बैंकहरुमा आवद्ध आफ्ना सदस्यहरुसंग परामर्श लिनुका साथै आधिकारिक ट्रेड युनियनको निर्वाचनका बारेमा आफ्ना धारणा राखेको हो । उक्त कार्यक्तममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुमा ट्रेड युनियनका नाममा धेरै विकृति आएको र विकृतिको अन्त्य गरी चुस्त सेवा प्रवाहकालागि पनि आधिकारिक ट्रेड युनियनको निर्वाचन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल बित्तिय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष गणेशबहादुर केसीले आधिकारिक ट्रेड युनियन निर्वाचनकालागि निर्वाचन बिधि बनाउने काम भईरहेको बताउनु भयो । फरक फरक संगठनले फरक फरक धारणा राखेकाले केही समस्या आएको बताउँदै उहाँले कानुनले निर्दिष्ट गरे अनुसार निर्वाचन गर्ने पक्षमा बित्तिय संस्था कर्मचारी संघ रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले बैंकमा देखिएका विकृति हट्ने, चुस्त सेवा प्रवाह हुने, नागरिकले प्रभावकारी सेवा पाउने हुँदा ट्रेड युनियनको साख पनि बढ्ने भएकाले प्रतिष्ठानको गरिमा बढाउनकालागि पनि आधिकारिक ट्रेड युनियनको निर्वाचन यथासिघ्र हुनुपर्ने माग गर्नुभयो ।

ट्रेड युनियन कानुन अनुसार प्रतिष्ठानमा ट्रेड युनियन प्रमाण पत्र प्राप्त गर्नकालागि कम्तिमा २५ प्रतिशत कर्मचारी एउटा प्रतिष्ठानमा आवद्ध भएको हुनुपर्छ । यदि २५ प्रतिशत कर्मचारी आवद्ध भए भने पनि कम्तिमा ४ वटा सम्म संगठन दर्ता हुन सक्छन् । तर पछिल्लो समयमा एउटै प्रतिष्ठानमा ६ वटा ७ वटा सम्म संगठन छन् ।

नेपाल कृषि बिकास बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक अरुणकुमार ढुङ्गानाले प्रतिष्ठानहरुमा धेरै संगठन हुँदा विकृति बढेको र त्यस्तो विकृति रोक्नकालागि पनि आधिकारिक ट्रेड युनियन आवश्यक रहेको बताउनु भयो । त्यस्तै संघका केन्द्रीय उपाध्यक्ष गणेशकुमार राउलले फरक बिचारका नाममा हुने भागवण्डाको राजनीति अन्त्यकालागि पनि आधिकारिक ट्रेड युनियन निर्वाचन आवश्यक रहेको बताउनु भयो ।

नेपाल बित्तिय संस्था कर्मचारी संघ कृषि बिकास बैंकका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष रामबहादुर गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष परशुराम खनाल, महासचिव लक्ष्मण अधिकारी, उपमहासचिव कमलबहादुर खत्री, कोषाध्यक्ष धर्मप्रसाद खनाल, सदस्य तुलाराम गुरुङ्, राजेशकुमार श्रीवास्तव संघ रुपन्देहीका सचिव गणेशसिंह श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो ।