
बुटवल, ५ मंसिर । संबैधानिक रुपमैं मगरहरुको अधिकार स्थापित गर्नका लागि मगर एकताको विकल्प नभएकोमा मगर अगुवाहरुले जोड दिएका छन् ।
उनीहरुले मगर एकतामा झाजो हाल्नेसंग सचेत रहन पनि आग्रह गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समिति, बुटवलले आज बुटवलमा गरेको बृहत मगरहरुको भेलामा बोल्ने मगर अगुवाहरुले उक्त कुरामा जोड दिएका हुंन् । राजनैतिक दलका कारण मगरहरु एकजुट हुंन नसकेको उनीहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति,रुपन्देहीका पूर्व सदस्य जनक थापामगर, जिल्ला सदस्य भोजबहादुर बुढाथोकीमगर, संघका सल्लाहकार किसनबहादुर थापामगर, धनी आलेमगर लगायतले बोल्नुभएको थियो ।
भेलाले पितृ पुजा(बाजे–बज्यैं)सम्पन्न गर्न संघका अध्यक्ष गोपाल चौहानमगरको संयोजकत्वमा २५ सदस्यीय पुजा व्यवस्थापन समिति गठन गरिएको छ भने कार्यक्रमको प्रचार–प्रसारका लागि संघका प्रेस सल्लाहकार टेकबहादुर मास्कीरानालाई जिम्मेबारी दिइएको छ । त्यस्तैं भेलाले पुजा सम्पन्न गर्न विभिन्न ११ वटा उपसमिति पनि गठन गरिएको सचिव थर्कबहादुर बाह्रघरेमगरले जानकारी दिनुभयो ।
सोही अवसरमा प्रथम शहीद लखन थापामगर स्मृति हल निर्माणका लागि बुनपा–१५ निबासी क्या.बलबहादुर थापामगरले २५ हजार ५०
रुपैया, पितृ थान खानेपानी निर्माणका लागि बुनपा–१२ निवासी निर्मलप्रकाश रानाले ५ हजार ५ सय ५५रुपैयां र नेपाल मगर संघ बुनपा–४ ले एकमुष्ठ रुपमा १६ हजार ४ सय १० रुपैयां सहयोग गरेको संघका कोषाध्यक्ष लुमबहादुर थापामगरले जानकारी दिनुभयो ।
संघका अध्यक्ष गोपाल चौहानमगरको अध्यक्षता, सचिव थर्कबहादुर बाह्रघरेमगरको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेमगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । संघले मंसिर २८ गते मंसिर पूर्णिमा(धान्य पूर्णिमा)का दिन पितृ पुजा गर्न लागेको हो ।