लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शन

1.3K

लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शन

thanka-lumbini

प्रविण गाहा/

बुटवल, १० मंसिर । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शनीका लागि राखिएको छ । आज र भोली दुई दिनको लागि विश्वकै ठुलो ५० मिटर चौडाई र ७० मिटर लम्बाई भएको थान्का प्रदर्शनीको लागि लुम्बिनीमा राखिएको छ ।

नेपाल–जापान कुटनीतिक सम्बन्धको ६० वर्ष पुरा गरेको अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शनीको लागि राखिएको हो । थान्का लुम्बिनीको हेलिप्याडमा प्रदर्शनीका लागि राखिएको छ । थान्का प्रदर्शनी कार्यक्रममा धर्म श्वामी बुद्ध विहार लुम्बिनीका प्रमुख धर्म गुरु टाक्य विष्ट लामाले विश्व शान्तिको कामना गर्नुभयो ।

थान्का प्रदर्शनी कार्यक्रममा थान्का बनाउन विशेष भुमिका खेल्ने नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सुर्य बहादुर थकाली र एन.पि.ओ एम २१ नेटवर्क जापानका अध्यक्ष यासुतादा कातागिरीले उक्त थान्का नेपालमै बुद्ध जन्म स्थल लुम्बिनीमा राख्न पहल गर्न नेपाल सरकार संग आग्रह गर्नुभयो । उहांहरुले त्यसको लागि आफुहरुको तर्फबाट पनि पहल भैरहको जानकारी गराउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले लुम्बिनीमा थान्का राख्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाउदै त्यसको लागि सरोकारवाला निकायलाई अग्रसरता देखाउन आग्रह गर्नुभयो ।

नेपाल बौद्ध महासंघ रुपन्देही तथा प्रदर्शनी मुल व्यवस्थापन समितिका संयोजक ईन्द्र बहादुर गुरुङ्गले बुद्ध जन्मस्थल लुम्बिनीमा उहांकै जन्म देखि समबोधीलाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाण सम्मका घटना उल्लेख भएको थान्का प्रदर्शनी हुनु अत्यन्तै महत्वपुर्ण भएको भन्दै त्यसलाई लुम्बिनीमा राख्नु पर्नेमा जोड दिनुभयो ।

प्रदर्शनी व्यवस्थापन समितिका सदस्य कमल थापाले पहिलो दिन करिव ३० हजार जनाद्वारा थान्का अवलोकन भएको जानकारी दिनुभयो ।
भोलि बिहान १० बजे देखि ४ बजे सम्म लुम्बिनीमा थान्का प्रदर्शन हुने मुल व्यवस्थापन समितिले जनाएको छ ।

यो समय लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकको घुंइचो लाग्ने भएकोले करिव ५० हजार देखि एक लाख सम्मले अवलोकन गर्ने व्यवस्थापन समितिले अपेक्षा गरेका छन् । थान्का अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । थान्का प्रदर्शन गर्नु अघि आज विहान लुम्बिनीको पर्साचौराहाबाट ¥याली निकालिएको थियो । ¥यालीमा राष्ट्रिय, अन्तराष्ट्रिय धर्म गुरु, विभिन्न संघ/संस्थाको सहभागिता रहेको थियो ।
के हो थान्का
थान्का तिब्बती भाषा हो । यसलाई तिब्बती भाषामा अभिलेख राख्ने भन्ने बुझिन्छ । विश्वकै ठुलो थान्कामा भगवान बुद्धको जन्म देखि समबोधीलाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाण सम्मका घटना उल्लेख छ ।

थान्काको टिकाउ अवधी चार सय पचास वर्ष रहेको प्रदर्शनी मुल व्यवस्थापन समितिका संयोजक इन्द्र बहादुर गुरुङ्गले जानकारी गराउनुभयो । एक हजार नौ सय पांच किलो तौल रहेको ८१ वटा टुक्रा रहेको थान्का बनाउनको लागि आठ वर्ष लागेको थियो । प्रदर्शन अघि ८१ वटामा रहेका थान्कालाई चेन मार्फत एउटा सिंगो थान्का बनाउने गरिन्छ ।

जस मध्य तीन वटा टुक्रा नेपालमा तयार भएको हो । नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सुर्य बहादुर थकाली र एन.पि.ओ एम २१ नेटवर्क जापानका अध्यक्ष यासुतादा कातागिरीको पहलमा थान्का बनाउनको लागि नेपाल र जापान सहितका १६ देशका १० हजार स्वयंसेवक परिचालन गरिएको थियो ।

विश्वका विभिन्न देशमा प्रदर्शनी गरिएपछि जापानमै राख्ने गरिएको थान्का बुद्ध जन्मस्थल लुम्बिनीमा राख्न पहल भएको मुल व्यवस्थापन समितिका संयोजक गुरुङ्गले जानकारी गराउनुभयो । लुम्बिनीमा थान्का कसरी राख्ने भन्ने विषयमा छलफल भैरहेको व्यवस्थापन समितिका सदस्य कमल थापाले जानकारी दिनुभयो । उक्त थान्का राख्नको लागि दुई विगाहा जग्गाको आवश्यकता पर्ने भएपनि एक विगाहा मात्रको प्रस्ताव आएको व्यवस्थापन समितिका संयोजक गुरुङ्गको भनाई छ ।
यस अघि कहां कहां प्रदर्शन भए
थान्का यस अघि सन् २००२ अप्रिलमा जापानको योकोहोमा, हिरोसिमा, २००५मेईमा जापानकै नागोया डोममा, २००३ डिसेम्बरमा भारतको नयां दिल्लीमा, २००४ जुनमा मंगोलिया, २००४ कै मार्चमा अमेरिकाको होनोलुलुमा प्रदर्शनी गरिसकिएको छ । गत कात्तिक २६ र २७ गते काठमाडौंको दशरथ रंगशाला र यही मंसिर ४ र ५ गते पोखरामा प्रदर्शनी गरिएको थियो ।