‘श्रम कानुनको कार्यान्वयन भएन’

1.3K

‘श्रम कानुनको कार्यान्वयन भएन’

kajiman-trade

बुटवल, १० मंसिर । नेपालमा श्रम ऐनमा निर्धारण भएका श्रम कानुनको कार्यान्वयन हुन नसकेको ट्रेड युनियन सम्वद्ध व्यक्तिहरुले बताएका छन् ।

श्रमिकको कार्य अवस्था तथा समय, उद्योग व्यबसायमा कामदार कर्मचारीको दरवन्दी तथा कार्य विभाजन, ज्याला तथा सुविधा, सामाजिक सुरक्षा व्यबसायजन्य स्वास्थ्य सविधा, अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ.) श्रम मापदण्ड निर्धारण, सामुहिक सौदावाजी तथा ट्रेड युनियन अधिकार लगायतका कुराहरु श्रम कानुनमा व्यबस्था भएपनि अधिकांस उद्योग धन्दामा कानुनको पालना नभएको उनीहरुले बताएका हुन् ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ–नेपाल आवद्ध परिषदले आज बुटवलमा आयोजना गरेको श्रम निरिक्षण प्रणाली सम्बन्धि जनचेतना अभिबृद्धि कार्यक्रममा सहभागि श्रमिकहरुले सरकारले बनाएको कानुनको कार्यान्वयनमा सरकार आफै उदासिन भएको बताए ।

श्रमिकको काम गर्ने कार्यस्थलको अवस्था र उनीहरुको कार्य प्रणाली, काम गर्ने समय लगायतका बिषयमा अनुगमन तथा मुल्याङ्कन गर्न बनाईएको प्रणालीलाई श्रम निरिक्षण प्रणाली भनिन्छ । श्रम अनुगमन नहुँदै ट्रेड युनियन सम्वद्ध मजदुरहरुले श्रम कानुनले निर्दिष्ट गरेका अधिकाँस विषयबस्तुहरु अधिकाँस प्रतिष्ठानमा कार्यान्वयन नभएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै श्रम कार्यालय बुटवलका निमित्त कार्यालय प्रमुख रोमलाल पुरीले पनि श्रम कानुनको हुवहु कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले कार्यालयमा स्रोत साधन तथा जनशक्तिको अभावका कारण प्रभावकारी रुपमा यथेष्ट काम गर्न नसकेपनि देखिएका समस्या समाधान गरिरहेको बताउनु भयो ।

त्यस्तै बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल श्रेष्ठले प्रतिष्ठानमा व्यबस्थापन र मजदुर बिच सुमधुर सम्बन्ध रहन सके मात्रै दुबै पक्षलाई फाईदा पुग्ने बताउँदै दुबै पक्ष मिलेर अँगाडी बढ्नु पर्ने बताउनु भयो । उहाँले उद्योग प्रतिष्ठानको हैसियनका कारण पनि मजदुरहरुले यथेष्ट सेवा सुविधा पाउन नसकेको बताउँदै उद्योग प्रतिष्ठानको हैसियत पनि बढाउने र मजुरका आधारभूत सेवा सुविधा पनि पाउने गरी दुबै पक्ष एक विन्दुमा आउनु पर्ने बताउनु भयो ।

त्यसकालागि सहकार्य गर्न बुटवल उद्योग बाणिज्य संघ तयार रहेको बताउनु भयो । त्यस्तै रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारीले मजदुरले आफ्ना हक अधिकारलाई मात्रै नभएर काम कर्तव्यलाई पनि जोड दिनुपर्ने बताउनु भयो ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षता नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) रुपन्देहीका अध्यक्ष हुमाकान्त काफ्लेको सञ्चालन तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अवध राज्य समितिका सहसंयोजक प्रेम घिसिङ्को स्वागतमा भएको कार्यक्रममा जिफण्टका प्रदेश नं. ५ का सचिव हरि कार्कीले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो ।