राजश्व चुहावट नियन्त्रणमा माथिल्लो निकायबाटै सुधारको प्रयास थाल्नुपर्छ

1.3K

राजश्व चुहावट नियन्त्रणमा माथिल्लो निकायबाटै सुधारको प्रयास थाल्नुपर्छ

welcom-news

बुटवल, १४ मंसिर । यहाँका उद्योगी व्यवासायीले कर प्रणालीमा समयअनुकुल बनाउनुपर्ने बताएका छन् । प्रविधिको विकाससंगै उद्योगी व्यवसायीले कर तिर्ने प्रणालीको पनि आधुनिकीकरण गरिनुपर्ने बताए ।

राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख नरेन्द्रप्रकाश पाण्डेलाई स्वागत गर्न नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले राखेको स्वागत कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । बक्ताहरुले कर प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने औंल्याउदै राजश्व चुहावट नियन्त्रणमा माथिल्लो निकायबाटै सुधारको प्रयास थाल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख नरेन्द्रप्रकाश पाण्डेले उद्योगी व्यापारीले करले होइन रहरले कर तिर्नुपर्ने उल्लेख गरे । उनले कार्यालयको अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्न नहुने भन्दै आफ्नो क्षेत्राधिकार भित्रको अनुसन्धानमा सफलता प्राप्त गरिरहेको पनि बताए ।

उद्योगी व्यवसायीले पारदर्शी रुपमा कर तिरे कहिकतै समस्यामा पर्नुनपर्ने उनले चर्चा गरे । कार्यालयका अधिकृत चक्र ढुंगानाले उद्योगी व्यवसायीलाई आतंकित गर्ने गरी कुनै काम नहुने तर राजश्व चुहावट रोक्न सबैको सामुहिक पहल आवश्यक रहने उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य खिमनारायण पराजुलीले आफूहरु राजश्व छल्नेहरुको पक्षमा नरहेको बताए । कहिकतै भुलबस सानोतिनो कमजोरी गर्नेलाई भने आतंकित गर्नेगरी राजश्वले दुःख दिन नहुने उनले उल्लेख गरे । सबैभन्दा पहिले मुहान नै सफा गर्नुपर्ने भन्दै उनले कर प्रणालिमा माथिल्लो तहबाटै हुने सुधारको पहल गर्नुपर्ने तर्क गरे ।

संगठनका बुटवल अध्यक्ष खेम श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्धय प्रविण पाठक र गोविन्द गैरे, महासचिव सिताराम रसाईली, कोषाध्यक्ष कृष्ण अर्याल, सल्लाहकार सन्दीप चापागाई, हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबहादुर जीसी लगायतले बोल्दै आफूहरु पारदर्शी रुपमा कर तिर्ने व्यवसायीलाई आतंकित गर्ने गरी राजश्वले छापामार्ने काम भने गर्न नहुने उल्लेख गरे ।