हेलचेक्रयाई गर्ने प्रबृत्तिले दुर्घटना : एसपी शर्मा

1.3K

हेलचेक्रयाई गर्ने प्रबृत्तिले दुर्घटना : एसपी शर्मा

traffic

बुटवल, १५ मंसिर । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा हालै आउनु भएका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले सडक प्रयोगको ज्ञान भएपनि हेलचेक्रयाई गर्ने प्रबृत्तिले दुर्घटना हुने गरेकाले त्यसकालागि जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ ।

हालै कार्यालयमा आउनु भएका उहाँले आज पत्रकारसंगको भेटघाटमा विभागले निर्दिष्ट गरेका कामलाई प्रभावकारी बनाउँदै स्थानीय आवश्यकता अनुसारका कामलाई पनि उत्तिकै प्राथमिकता दिएर काम गर्ने बताउनु भयो । ड्युटिमा खटिएका प्रहरीले जिम्मेवारबोध भएर काम गर्न आग्रह गर्दै उहाँले कसैले नाजायज काम गर्छ भने त्यसलाई आफूले कारवाहीको दायरामा ल्याउने बताउँदै कसैले त्यस्तो काम गरेको भए आफूलाई जानकारी दिन समेत आग्रह गर्नुभयो ।

उक्त भेटघाटमा उहाँले पत्रकारसंग यहाँको ट्राफिक अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । उहाँले प्राप्त सुझाव सल्लाहको आधारमा थप रणनीति बनाउने बताउनु भयो । छाडा चौपाया, पार्किङ्, फूटपाथ, ईरिक्सा लगायत बुटवलकालागि ट्राफिक व्यबस्थापनमा समस्या भएको कार्यालयले जनाएको छ ।

उक्त भेटघाटमा पत्रकारहरुले शहर भित्र सवारी साधनको गति उच्च रहेकाले नियन्त्रणकालागि गति निर्धारण र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, जरिवाना वरिन्टेड चेकजाँचलाई परिणाम वरिन्टेड बनाउनु पर्ने, सडकको मापदण्ड भन्दा बढी बोक्ने ओभरलोडलाई निरुत्साहित गर्नुपर्ने, हाईवे मै पार्किङ् गर्ने परिपार्टीको अन्त्य गर्नुपर्ने, सडकमै बसपार्क सञ्चालन भईरहेको र त्यसलाई नियन्त्रण गर्नुपर्ने, रातीको समयमा एण्टी सवारीलाई ध्यानमा राखेर लाईट डाउन गर्ने प्रबृत्ति बिकास गराउनु पर्ने लगायतका सुझाव दिएका थिए ।

यावत सुझावहरु सुधार गर्ने हो भने दुर्घटना न्यूनिकरणमा ठूलो योगदान हुने समेत सल्लाह दिएका छन् ।