
बुटवल, १५ मंसिर । रुपन्देही उद्योग संघले आफ्नो ३९ औं स्थापना एवं औद्योगिक दिवस–२०७३ विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसको अवसरमा संघले तीन दिनदेखि आयोजना गरेका कार्यक्रमको समापन आज गरिएको हो ।
संघले दिवसको अवसरमा यसअघि नै रक्तदान, वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिसकेको थियो । बुधबार संघले स्थापना दिवसको मुख्य समारोह तथा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । रुपन्देही उद्योग संघले आफ्नो ३९ औं स्थापना एवं औद्योगिक दिवस–२०७३ को अवसरमा विभिन्न व्यक्ति तथा उद्योगीहरुलाई सम्मान गरेको छ ।
यसैक्रममा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार बाट पत्रकार डायलसन अधिकारी पुरस्कृत भएका छन् । उनी रेडियो नमस्तेका प्रमुख र रेडियो नेपालका सम्वाददाता अधिकारी बुटवल टुडे दैनिकका आर्थिक लेखक हुन । २० बर्षदेखि बुटवलमा सक्रिय पत्रकारीता गर्दै आएका अधिकारी आर्थिक पत्रकार समाज लुम्बिनीका अध्यक्ष समेत हुन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा स्थापित सो पुरस्कारको राशी नगद २५ हजार रुपैंया“ छ । स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बीच पत्रकार अधिकारीलाई सो पुरस्कार नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदान गरे । पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार अधिकारीले आफूले पत्रकारिता गरुञ्जेल आर्थिक विषयलाई नछाड्ने बताए ।
सोही अवसरमा संघले संस्थापक अध्यक्ष रणबहादुर शाहलाई पनि सम्मान गरेको छ भने मुटु अस्पताल स्थापना गरेर सफल नेतृत्व प्रदान गर्ने पूर्वअध्यक्ष एजाज आलमलाई पनि सम्मान गरेको छ । यसैगरी विभिन्न विधामा उत्कृष्ट हुने उद्योग तथा संघले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजयी प्रतियोगीलाई पनि सम्मान गरिएको छ । यस्तै संघले उद्योगमा कार्यरत मजदुरका छोराछोरी मध्ये अक्ष्मी अर्याल, टोप बहादुर कामु, सुनिल काफ्ले, रुविन दर्लामीलाई जनही रु दश/दश हजार छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बन्दलाई सधैका लागि बन्द गर्न आग्रह गरे । ‘मुलुकलाई कुशासनबाट मुक्त गरौं, उद्योगीलाई काम गर्ने अवसर दिऊ“’ उनले भने । उनले नाङ्गो राष्ट्रवाद त्यागेर आर्थिक राष्ट्रबाट अंगाल्न आग्रह गर्दै उद्योगीहरु राजनीतिक आग्रह÷पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताए ।
यस्तै संघका पूर्वअध्यक्ष श्यामबहादुर पाठकले आर्थिक समृद्धिका लागि मुलुकमा राजनीतिक स्थिरता आवश्यक पर्ने भएकाले यसलाई राजनीतिक दलहरुले गहन रुपमा लिनुपर्ने बताए । उनले व्यापार घाटा कम गराउन राष्ट्रिय उत्पादकत्व बढाउनु पर्नेमा जोड दिए ।
यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले बन्द, हड्तालले फेरी मुलुकको आर्थिक क्षेत्रमा ठूलो नोक्सान ल्याउने भन्दै सिमांकनको छिनोफानो संसदबाट गर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।
नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले उद्योग संघको पहलमा मुटु अस्पताल स्थापना भैसकेको सन्दर्भमा संघले अब धागो कारखाना सञ्चालनका लागि पहल गर्नुपर्ने बताए । उनले भने, ‘उद्योग संघले धागो कारखाना सञ्चालनका लागि अगुवाई गरोस्, एमाले त्यसमा साथ दिन तयार छ ।’ चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कंडेलले राजनीतिक स्थिरताबिना उद्योगीले केही काम पनि गर्न नसक्ने बताए । नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सदस्य हरि बहादुर आचार्यले जनताको भावना विपरीत प्रदेश नं. ५ टुक्राउन नहुने बताए । संघका पूर्वअध्यक्ष एवं गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताललाई अझै स्तरवृद्धि गरिने जानकारी दि“दै यसमा सहयोग गर्न उद्योगी÷व्यवसायीलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले प्रदेश नं. ५ का तराई र पहाडी भू–भाग छुट्टाउ“दा यस क्षेत्रको आर्थिक/सामाजिक सम्बन्धमा नकारात्मक असर पर्ने बताए । संघका अध्यक्ष दिनेशराज रेग्मीले मुलुकमा विद्यमान अन्यौलको अवस्था छिटो समाधान गर्न राजनीतिक दलहरुलाई आग्रह गरे । उनले नया“ औद्यँेगिक ऐन छिटो कार्यान्वयनमा ल्याउन माग गरे ।
सो अवसरमा रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, संघका पूर्वअध्यक्ष बेनुराम प्रधान, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका निमित्त प्रमुख शिवपुजन चौधरीलगायतले पनि बोलेका थिए । संघका अध्यक्ष रेग्मीको अध्यक्षता, महासचिव माधव पौडेलको सञ्चालन, वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारीको स्वागत तथा उपाध्यक्ष महेश थैवको धन्यवादमा कार्यक्रम भएको हो ।